वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–३२, टेढास्थित श्रीमती मनमिश्र आधारभूत विद्यालय, टेढा–सेमरा मा अध्ययनरत ९८ जना बालविकास तहका विद्यार्थीलाई लक्षित गर्दै दुईवटा कक्षाकोठामा जडान गर्ने गरी चार थान सिलिङ फ्यान हस्तान्तरण गरिएको छ।
उपकार सेवा नेपालको पूर्ण आर्थिक सहयोगमा उपलब्ध गराइएका फ्यान एक विशेष कार्यक्रमबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो। गर्मीका कारण बालबालिकालाई पठनपाठनमा हुने असहजता कम गर्दै सहज सिकाइ वातावरण निर्माण गर्ने उद्देश्यले फ्यान उपलब्ध गराइएको संस्थाले जनाएको छ।
हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजाराम साह, उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी, संस्थाकी संरक्षक पद्मा देवी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अन्य सरोकारवालाको समेत सहभागिता थियो।
कार्यक्रममा वक्ताहरूले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधारमा सामाजिक संघसंस्थाको सहकार्य महत्त्वपूर्ण हुने उल्लेख गर्दै यस्ता सहयोगले बालबालिकाको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।



