वीरगञ्ज — नेवा देय् दबु जिल्ला समिति, नेवा देय् दबु महानगर समिति र मिसा दबुको संयुक्त बैठकले गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको सांस्कृतिक पहिचानसहित सहभागी हुने निर्णय गरेको छ।
होटल पूजनमा असार ३१ गते बसेको बैठकमा प्रा. डा. दीपक शाक्यसहित विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। बैठकले रथयात्रा समितिको अनुरोधअनुसार असार ३२ गते बिहान आयोजना हुने गहवामाईको चौथो रथयात्रामा वीरगञ्जका नेवा समुदायलाई परम्परागत पहिचानसहित सहभागी हुन आह्वान गरेको हो।
निर्णयअनुसार सहभागीहरू बिहान ७ बजे शङ्खधर साख्वा पार्कमा भेला हुनेछन्। त्यहाँबाट लाखे द्यःलाई अगाडि राखी धिमे बाजासहितको सांस्कृतिक टोली क्रमबद्ध रूपमा माइस्थान प्राङ्गण पुगेर रथयात्रामा सहभागी हुने कार्यक्रम तय गरिएको छ।
नेवा देय् दबुले नेवारी महिलालाई परम्परागत नेवारी पोशाकमा तथा पुरुषलाई नेवा पोशाक, नेवा टी–सर्ट, भेष्ट वा कम्तीमा नेवा टोपी लगाएर उपस्थित हुन आग्रह गरेको छ।
रथयात्रापछि नेवा देय् दबु महानगर समितिले गत वर्षझैं यस वर्ष पनि सहभागीका लागि सर्बत वितरण गर्ने जनाएको छ। सर्बत वितरण कार्यक्रम मकालु होटलको पूर्वपट्टि रहेको राजभण्डारी कम्प्लेक्स नजिक आयोजना हुने समितिले जनाएको छ।



