वीरगञ्ज — पर्सा जिल्लाका सार्वजनिक स्थलमा राखिएका च्यातिएका, रङ्ग उडेका तथा फोहोर अवस्थामा रहेका राष्ट्रिय झन्डा तत्काल हटाएर मापदण्डअनुसारका नयाँ झन्डा राख्न जिल्ला प्रशासन कार्यालय पर्साले स्थानीय तहलाई निर्देशन दिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले मंगलबार जिल्लाका सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पत्राचार गर्दै चोक, पुल, उद्यान तथा अन्य सार्वजनिक स्थानमा राखिएका राष्ट्रिय झन्डाको नियमित मर्मत, संरक्षण र व्यवस्थापन गर्न निर्देशन दिएका हुन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार पर्साका विभिन्न सार्वजनिक स्थलमा राखिएका राष्ट्रिय झन्डा च्यातिएको, रङ्ग उडेको तथा फोहोर अवस्थामा रहेको भन्दै जनस्तरबाट गुनासो आएपछि यो निर्देशन जारी गरिएको हो।
कार्यालयले नेपालको राष्ट्रिय झन्डा राष्ट्रको गौरव, स्वाभिमान र पहिचानको प्रतीक भएकाले यसको मर्यादा र सम्मान कायम राख्नु सबैको साझा संवैधानिक तथा नागरिक दायित्व भएको जनाएको छ। साथै, ‘राष्ट्रिय झन्डा र राष्ट्रिय गान प्रयोग सम्बन्धी कार्यविधि, २०६९’ अनुसार सार्वजनिक स्थानमा प्रयोग हुने झन्डा सफा, सग्लो र मापदण्डअनुसारको हुनुपर्ने कानुनी व्यवस्था रहेको स्मरण गराएको छ।
प्रशासनले स्थानीय तहलाई च्यातिएका, रङ्ग उडेका वा फोहोर भएका झन्डा तत्काल हटाएर नयाँ झन्डा राख्न, सार्वजनिक स्थलमा राखिएका झन्डाको नियमित अनुगमन गर्ने प्रणाली विकास गर्न, पुराना वा मक्किएका झन्डालाई कार्यविधिअनुसार सम्मानपूर्वक विसर्जन गर्न तथा झन्डा राखिएका स्थानको सरसफाइ र सुरक्षाको जिम्मेवारी सुनिश्चित गर्न निर्देशन दिएको छ।


