वीरगन्ज — वीरगन्ज महानगरपालिका–१३ राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयमा नवनिर्वाचित विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरूको सपथ ग्रहण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।
मंगलबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछाने ले विद्यार्थी परिषद्मा निर्वाचित हेड ब्वाय, हेड गर्ल, क्याप्टेन तथा प्रिफेक्टहरूलाई पद तथा गोपनीयताको सपथ गराए।
विद्यालयका संस्थापक प्रधानाध्यापक सरोज चौधरी का अनुसार परिषद्को निर्वाचन विद्यालयमै अध्ययनरत दुई विद्यार्थीले निर्माण गरेको विद्युतीय मतदान मेसिनमार्फत सम्पन्न गरिएको थियो। उनले यसलाई प्रविधिको प्रयोगसहितको नमूना विद्यार्थी निर्वाचनका रूपमा उल्लेख गरे।
प्रधानाध्यापक चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सनका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, प्याब्सनका केन्द्रीय सदस्य छुडुप लामा लगायतले नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिएका थिए।
सो अवसरमा विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये गत शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गरी प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा वीरगन्ज महानगरपालिका–१३ का वडा अध्यक्ष हिरा गिरी, प्रेस सेन्टर नेपाल का प्रदेश अध्यक्ष नीरज पिठाकोटे, समाजवादी प्रेस संगठन का प्रदेश अध्यक्ष मनोज पटेल, प्याब्सन मधेस प्रदेश उपाध्यक्ष इमामुद्दीन अहमद लगायतको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल अशोक संग्रौला ले गरेका थिए।



