प्रणय साह
परवानीपुर — बारा जिल्लाको परवानीपुर गाउँपालिकामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजाले शिक्षा क्षेत्रको वास्तविक अवस्था उदाङ्गो बनाएको छ। गाउँपालिकाले समग्र उत्तीर्ण प्रतिशत बढेको भन्दै सुधारको दाबी गरे पनि सार्वजनिक तथ्यांकले अधिकांश विद्यार्थी असफल भएको र सामुदायिक विद्यालयहरू गम्भीर शैक्षिक संकटमा फसेको स्पष्ट देखाएको छ।

यस वर्ष गाउँपालिकाभित्रका ६ विद्यालयबाट ३७३ विद्यार्थी एसईई परीक्षामा सहभागी भएकामा केवल १४८ जना मात्र उत्तीर्ण भएका छन् भने २२५ विद्यार्थी अनुत्तीर्ण भएका छन्। समग्र उत्तीर्ण प्रतिशत ३९.६६ पुगेको भए पनि ६० प्रतिशतभन्दा बढी विद्यार्थी असफल हुनु गाउँपालिकाको शिक्षा व्यवस्थामाथि ठूला प्रश्न खडा गर्ने विषय बनेको छ।
विशेषगरी सामुदायिक विद्यालयहरूको अवस्था अत्यन्त दयनीय देखिएको छ। श्री जनता माध्यमिक विद्यालय, रामपुर टोकनीबाट परीक्षामा सहभागी ८० विद्यार्थी मध्ये केवल ४ जना मात्र उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत ५ प्रतिशत मा सीमित भएको छ, जुन गत वर्षको ५.३७ प्रतिशतभन्दा पनि कम हो। लगातार कमजोर नतिजा दोहोरिँदा पनि सुधारका प्रभावकारी कदम नचालिएको भन्दै परवानीपुर गाउँपालिका वडा नम्बर ५ का स्थानीय युवा अनिल कुमार साहले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
त्यस्तै, श्री भोजभगत माध्यमिक विद्यालय, लिपनीमालबाट ११५ विद्यार्थी परीक्षामा सहभागी भएकामा केवल १७ जना मात्र उत्तीर्ण भएका छन्। विद्यालयको उत्तीर्ण प्रतिशत १४.७८ पुगे पनि अधिकांश विद्यार्थी असफल भएका छन्। गत वर्षको तुलनामा केही सुधार भए पनि नतिजा अझै कमजोर रहेको टिप्पणी साहले गरेका छन्।
यता निजी विद्यालयहरूले भने उत्कृष्ट नतिजा निकाल्दै सामुदायिक विद्यालयहरूसँगको गुणस्तरीय अन्तर झन् प्रष्ट बनाएका छन्। हेरिटेज पब्लिक सेकेन्डरी स्कूलले ७८ विद्यार्थी मध्ये ७७ जना उत्तीर्ण गराउँदै ९८।७२ प्रतिशत नतिजा हासिल गरेको छ। त्यस्तै डी.पि.एस. लिपनीमालले २२ मध्ये २१ विद्यार्थी उत्तीर्ण गराएर ९५.४५ प्रतिशत नतिजा निकालेको छ।
श्री सरस्वती इङ्ग्लिस बोर्डिङ स्कूल, लिपनीमालको नतिजामा पनि सुधार देखिएको छ। विद्यालयको उत्तीर्ण प्रतिशत ४४.४४ बाट बढेर ५५.५६ पुगेको छ।
निजी विद्यालय र सामुदायिक विद्यालयबीचको ठूलो अन्तरले गाउँपालिकाको शिक्षा नीति र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। शिक्षा क्षेत्रमा ठूलो बजेट खर्च हुँदाहुँदै पनि सामुदायिक विद्यालयको अवस्था सुधार हुन नसक्नु, शिक्षकको कमजोर उत्तरदायित्व, नियमित अनुगमन अभाव तथा शिक्षण प्रणालीको कमजोरी मुख्य कारणका रूपमा औंल्याइएको छ।
वडा १ बुनियादका स्थानीय अभिभावक धमेन्द्र मण्डलका अनुसार विद्यालयमा पढाइ नियमित नहुने, शिक्षक समयमै उपस्थित नहुने तथा विद्यार्थीको आधारभूत सिकाइ नै कमजोर भएकाले वर्षेनी यस्तो निराशाजनक नतिजा दोहोरिने गरेको छ। “हरेक वर्ष सुधारको आश्वासन मात्रै आउँछ, तर विद्यालयको अवस्था जस्ताको तस्तै छ,” एक स्थानीय अभिभावकले गुनासो गरे।
शिक्षा क्षेत्रका जानकारहरूका अनुसार केवल उत्तीर्ण प्रतिशत बढेको तथ्यलाई उपलब्धि मानेर आत्मसन्तुष्ट हुने अवस्था छैन। अधिकांश विद्यार्थी असफल भइरहेका बेला शिक्षा प्रणालीको गहिरो समीक्षा र सामुदायिक विद्यालय सुधारका लागि कडा कदम चाल्न आवश्यक रहेको उनीहरूको भनाइ छ।



