वीरगन्ज — त्रिभुवन राजपथ अन्तर्गत वीरगन्जको मुख्य सडक ९मेनरोड० विस्तार कार्य रोक्न माग गर्दै मेनरोड क्षेत्रका घरजग्गाधनी र व्यवसायीहरूले बिहीबार मानव सांग्लो बनाएर विरोध प्रदर्शन गरेका छन्।

वीरगन्ज बचाउ संघर्ष समिति र वीरगन्ज युवा तथा व्यवसायी सडक पीडित संघर्ष समितिको अगुवाइमा आदर्शनगर चोकदेखि घण्टाघर चोकसम्म मानव सांग्लो बनाएर प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरूले “डोजर आतंक बन्द गर”, “सुकुम्बासी बनाउन पाइँदैन”, “अत्याचार बन्द गर”, “मेनरोडलाई शहरी मार्ग कायम गर” लगायतका नाराबाजी गरेका थिए।
सडक विभागले वीरगन्ज महानगरपालिकासँगको समन्वयमा गत वैशाख ६ र ७ गते गण्डकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा सडक विस्तार अभियान सञ्चालन गरेको थियो। विभागले राष्ट्रिय राजमार्ग मापदण्डअनुसार सडकको केन्द्रबिन्दुबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र रहेका संरचनामा डोजर चलाएर हटाउने कार्य अघि बढाएको छ।
यस क्रममा करिब ८ किलोमिटर क्षेत्रमा पर्ने झण्डै १ हजार २ सय पक्की तथा अस्थायी संरचना भत्काइएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ। विभागले सडक सीमाभित्र रहेका बाँकी संरचना पनि हटाउन सम्बन्धित घरधनीलाई आग्रह गर्दै अन्यथा पुनः डोजर प्रयोग गरिने चेतावनी दिएको छ।
वीरगन्ज बचाउ संघर्ष समितिका संयोजक जवाहर साह कानुले सरकारले विकासको नाममा वीरगन्जमा “विनाश” मच्चाएको आरोप लगाए। उनले वीरगन्जमा पहिले नै दुईवटा बाइपास सडक र ६ लेनको व्यापारिक मार्ग निर्माण भइसकेकाले मेनरोडलाई थप २५–२५ मिटर फराकिलो बनाउन आवश्यक नरहेको बताए।
उनले मेनरोडलाई “शहरी मार्ग” घोषणा गरी सोही मापदण्डअनुसार विस्तार गर्नुपर्ने मागसमेत गरे। माग सम्बोधन नभएसम्म आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी पनि उनले दिए।
यसअघि वैशाख ११ गते पनि मेनरोड क्षेत्रका घरधनी तथा व्यवसायीहरूले सडक विस्तारविरुद्ध प्रदर्शन गरेका थिए। उनीहरूले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए भने गत साता काठमाडौंको माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए।



