काठमाडौं, २२ वैशाख — उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले वीरगन्ज चिनी कारखाना योजनाबद्ध रूपमा बन्द गरिएको गम्भीर आरोप लगाउँदै यसलाई “हत्या” को संज्ञा दिएका छन्। मंगलबार उद्योग मन्त्री र मन्त्रालयका सचिवलाई ध्यानाकर्षण गराउँदै उनले कारखाना बन्द हुनुमा चलखेल भएको दाबी गरे।

सभापति अन्सारीका अनुसार उक्त कारखाना बन्द हुनु सामान्य प्रक्रिया नभई सुनियोजित षड्यन्त्रको परिणाम हो। “कारखानाको हत्या भएको हो, यसका हत्याराहरू अझै पनि बजारमै सक्रिय छन्,” उनले स्पष्ट रूपमा टिप्पणी गरे। कारखाना बन्द हुँदा हजारौं कर्मचारी र उखु किसान प्रत्यक्ष रूपमा प्रभावित भएको उनले बताए। उनका अनुसार, एकातिर किसानले उत्पादन गरेको उखुको उचित मूल्य पाउन सकेका छैनन् भने अर्कोतिर निजी चिनी उद्योग सञ्चालन गर्नेहरू भने फाइदा उठाउँदै आएका छन्।
अन्सारीले चिनी उद्योग क्षेत्रमा आर्थिक तर्कभन्दा बढी राजनीतिक प्रभाव हाबी भएको उल्लेख गरे। उद्योगीहरूले व्यापारीसँग अग्रिम रकम लिने तर किसानलाई उधारोमा उखु दिन बाध्य बनाउने प्रवृत्ति मौलाएको भन्दै उनले यसलाई सुधार गर्न नीतिगत हस्तक्षेप आवश्यक रहेको बताए। उनले नेपालमा चिनी उत्पादन न्यून हुनुका साथै गुणस्तरमा पनि कमी रहेको औंल्याए।
औद्योगिक प्रदूषणबारे पनि उनले गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार उद्योगबाट निस्कने धुवाँ र फोहोरका कारण स्थानीय बासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ। “बिहान ४ देखि ६ बजेको बीचमा हावाको रङ नै कालो देखिन्छ,” उनले भने, “यसले क्यान्सर र स्ट्रोकजस्ता गम्भीर रोगको जोखिम बढाएको छ।” उनले वातावरणीय मापदण्ड कडाइका साथ कार्यान्वयन गर्न उद्योग मन्त्रालयलाई आग्रह गरे।
त्यसैगरी, केही उद्योगहरूले सार्वजनिक जग्गा तथा नदी–खोला अतिक्रमण गरी संरचना निर्माण गरेको भन्दै उनले आपत्ति जनाए। यस्ता गैरकानुनी गतिविधिमा स्थानीय प्रशासन र सुरक्षा निकाय प्रभावकारी रूपमा सक्रिय हुन नसकेको आरोप उनले लगाए। अन्सारीले उद्योग मन्त्रालयले विशेष टोली गठन गरी अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउनुपर्ने माग गरे।
भन्सार नाकामा हुने ढिलासुस्ती र कर्मचारीको मनपरी पनि उनले प्रमुख समस्या रहेको बताए। उनले मुख्य भन्सार बिन्दुहरूमा आधुनिक एक्सरे स्क्यानर जडान गरी छिटो र पारदर्शी जाँच प्रणाली लागू गर्न सुझाव दिए। यसबाट चोरी पैठारी नियन्त्रण हुनुका साथै इमानदार व्यवसायीले अनावश्यक झन्झट भोग्न नपर्ने उनको भनाइ छ।
अन्त्यमा, सभापति अन्सारीले यी सबै समस्याहरूको समाधानका लागि उद्योग मन्त्रालयले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै समितिले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।



