पर्साको वीरगञ्ज महानगरपालिका–११ मा बसोबास गर्दै आएका एक शारीरिक अपाङ्ग व्यक्तिलाई व्हिलचेयर प्रदान गरिएको छ। उपकार सेवा नेपाल र क्विन ज्वेलर्सको समन्वय तथा सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको हो।
वीरगञ्ज–११ मिर्ली चोक निवासी ५५ वर्षीय लालबाबु नेपाली शारीरिक अस्वस्थताका कारण हातखुट्टा चल्न छोडेपछि पूर्ण रूपमा अशक्त बनेका छन्। उनी विगत दुई वर्षदेखि ओछ्यानमै बस्न बाध्य रहेको जनाइएको छ।
उनको पारिवारिक अवस्था तथा कठिनाइबारे जानकारी पाएपछि उपकार सेवा नेपालका अध्यक्ष विध्या कुमारी सरावगीसहितको टोली उनको घरमै पुगेर व्हिलचेयर सहयोग गरेको हो। सहयोगपछि उनलाई हिँडडुल गर्न केही सहज हुने विश्वास गरिएको छ।
व्हिलचेयर हस्तान्तरण कार्यक्रममा सामाजिक अभियन्ता प्रकाश थारु, समाजसेवी अमर सर्राफ, प्रज्वलमान डंगोल, दिप्पु बर्णवाल, वडा अध्यक्ष अजय चौरासियालगायत स्थानीयको उपस्थिति रहेको थियो।
संस्थाले यसअघि पनि विभिन्न दुर्गम क्षेत्रहरूमा पुगेर असहाय तथा विपन्न व्यक्तिहरूलाई आवश्यक सहयोग गर्दै आएको जनाएको छ।



