वीरगञ्ज ।
मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिताअन्तर्गत सातौं दिनका खेलहरू उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन्। प्रतियोगिता वीरगञ्जस्थित आदर्शनगर रंगशालामा जारी छ।
स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ भने २३ खेल सञ्चालन हुने कार्यक्रम रहेको छ। प्रतियोगिताका विजेताले ४ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने संयोजक केशव खेतानले जानकारी दिएका छन्।
सातौं दिनको पहिलो खेलमा निलगिरी ज्याग्वार्स र माछापुच्छ्रे बीटीएस ब्लास्टर्सबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा माछापुच्छ्रे बीटीएस ब्लास्टर्सले उत्कृष्ट प्रदर्शन गर्दै १५ ओभरमा ६ विकेट गुमाएर १२१ रन बनाएको थियो। जवाफमा निलगिरी ज्याग्वार्सले १३.२ ओभरमा ६ विकेट गुमाउँदै ९२ रन मात्र बनाउन सकेपछि माछापुच्छ्रे बीटीएस ब्लास्टर्स ३६ रनले विजयी भयो।
त्यसैगरी दोस्रो खेल कञ्चनजंगा वीरगञ्ज र द फोग फाइटर कैलाशबीच सम्पन्न भयो। खेलमा कञ्चनजंगा वीरगञ्जले पहिले ब्याटिङ गर्दै १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याएको द फोग फाइटर कैलाश निर्धारित लक्ष्य पूरा गर्न असफल भएपछि कञ्चनजंगा वीरगञ्ज विजयी हुन सफल भयो।
आजको खेलमा प्रमुख अतिथिका रूपमा नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाई उपस्थित रहेका थिए। उनले ‘खेलकै उत्कृष्ट खेलाडी’ तथा विजेता टोलीलाई पुरस्कार वितरण गरेका थिए।
प्रतियोगिता आगामी दिनहरूमा अझै रोमाञ्चक बन्दै जाने अपेक्षा आयोजकले जनाएको छ।



