वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्सा ले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन अवधिभर मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ।
प्रशासनका अनुसार मदिरा बिक्री तथा सेवनका कारण शान्ति सुरक्षामा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेल ले शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नहुन्जेलसम्म जिल्लाभित्र कुनै पनि प्रकारका मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवन गर्न नपाइने जानकारी दिनुभयो।
बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय, गृह मन्त्रालयबाट प्राप्त निर्देशन तथा निर्वाचन आयोग का मापदण्डअनुसार प्रतिबन्ध लगाउने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो।
प्रशासनले जारी गरेको सूचनाको पालना गर्न सबैलाई आग्रह गर्दै आदेशको अवज्ञा गरे प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ। साथै, निर्वाचन अवधिभर शान्ति सुरक्षा कायम राख्न सबै सरोकारवाला निकाय, व्यवसायी तथा सर्वसाधारणलाई प्रशासनसँग सहकार्य गर्न अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले नागरिकको सक्रिय सहयोगबाट मात्र निर्वाचनलाई मर्यादित र सुरक्षित रूपमा सम्पन्न गर्न सकिने उल्लेख गर्दै जिम्मेवार भूमिका निर्वाह गर्न सबैमा अपिल गरेको छ।



