वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ र १३ मा नेकपा एमाले का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव ले घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सामाजिक पूर्वाधार र रोजगारीसँग सम्बन्धित समस्या, सुझाव तथा अपेक्षाहरू ध्यानपूर्वक सुने।
कार्यक्रममा उनले जनताको आवश्यकता र मागलाई प्राथमिकतामा राख्दै शिक्षा र स्वास्थ्य सेवाको सुधार, सडक तथा खानेपानी पूर्वाधार विस्तार, सामाजिक संरचना मजबुत बनाउने र स्थानीय स्तरमै रोजगारी सिर्जनामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।
यादवले विगतमा निर्वाचित सांसद तथा मन्त्रीको रूपमा पर्सा जिल्लामा सम्पन्न विकास कार्यहरूको स्मरण गर्दै सडक सुधार, खानेपानीको सहज पहुँच, विद्यालय र स्वास्थ्य संस्थाको स्तरोन्नति तथा सामाजिक कल्याण योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिएको दाबी गरे। ती कार्यहरूले आगामी दिनमा थप दिगो र समावेशी विकासको आधार तयार गरेको उनको भनाइ थियो ।
उनले पार्टीको चुनावी एजेन्डाबारे स्पष्ट पार्दै विकास र सुशासन, शिक्षा तथा स्वास्थ्यमा गुणात्मक सुधार, स्थानीय रोजगार सिर्जना, आर्थिक समृद्धि र महिला तथा सामाजिक समूहहरूको संरक्षणलाई प्रमुख प्राथमिकतामा राखिएको बताए।
“हामी विकास, सुशासन र समृद्धिको यात्रालाई निरन्तरता दिनेछौँ। सबै मतदाताले सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले) लाई विजयी गराउनुपर्छ। जनताको विश्वास र साथले हामीलाई अझ जिम्मेवार भएर काम गर्ने ऊर्जा दिएको छ। समृद्ध क्षेत्र र सुखी जनताको सङ्कल्पसहित हामी तपाईँहरूसँगै अघि बढ्नेछौँ,” यादवले भने।
घरदैलो कार्यक्रममा एमालेका नेता–कार्यकर्ता, स्थानीय समर्थक तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



