पर्सा। पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्सागढी नगरपालिका वडा नं. ४ का हर्दिया, हर्दासपुर, थरवट होला र बहेरा गाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा जेन्जी युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
घरदैलो अभियानका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै रास्वपाका उम्मेदवार तथा नेताहरूले स्थानीय तहका मुख्य समस्या र आवश्यकताबारे जानकारी लिएका थिए।
कार्यक्रममा सहभागी जेन्जी युवाहरूले कृषि, शिक्षा र स्वास्थ्य सेवाको सहज पहुँच, साथै किसानलाई समयमै मलको व्यवस्था हुनुपर्ने विषयलाई प्राथमिक मागका रूपमा अघि सारेका थिए।
रास्वपाका उम्मेदवारले निर्वाचित भएसँगै यी सबै विषयहरूलाई नीतिगत प्राथमिकतामा राखी चरणबद्ध रूपमा समाधान गरिने प्रतिबद्धता जनाए। विशेषगरी कृषिप्रधान क्षेत्र भएकाले कृषकहरूलाई आवश्यक मल, बीउ र प्राविधिक सहयोग समयमै उपलब्ध गराउने, उत्पादन लागत घटाउने र किसानको आम्दानी बढाउने योजनामा पार्टी केन्द्रित रहेको उनको भनाइ थियो।
त्यसैगरी, स्थानीय स्तरमै गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै युवालाई कृषिमा आधारित उद्यमशीलतामा आकर्षित गरिने योजना प्रस्तुत गरिएको थियो। रास्वपाले शिक्षा, स्वास्थ्य र कृषिलाई समृद्ध समाज निर्माणको आधारस्तम्भका रूपमा अघि सारेको छ।
घरदैलो कार्यक्रममार्फत रास्वपाले स्थानीय टोल–टोलमा सुशासन, पारदर्शिता र व्यवहारिक विकासको सन्देश प्रवाह गर्दै जनतासँग निरन्तर संवाद गर्ने जनाएको छ।
कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि कृषि र रोजगारीसँग जोडिएका ठोस योजनाप्रति चासो देखाउँदै नयाँ राजनीतिक शक्तिप्रति अपेक्षा व्यक्त गरेका थिए।



