पर्सा क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका–२, पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको देखिएको छ। रास्वपाका उम्मेदवार सुशील शाह कानुको घरदैलो कार्यक्रमका क्रममा स्थानीय बासिन्दाहरूले घण्टी बजाउँदै उत्साहका साथ समर्थन जनाएका छन्।
लामो समयदेखि उही अनुहार र उही प्रवृत्तिको राजनीतिले अपेक्षित विकास र सुशासन दिन नसकेको गुनासो गर्दै आएका स्थानीय नागरिकहरूले यस पटक परिवर्तनको विकल्प खोजेको स्पष्ट संकेत दिएका छन्। जनताले राजनीतिक नेतृत्वमा नयाँ सोच, इमानदारी र जवाफदेहिताको आवश्यकता रहेको बताउँदै रास्वपालाई वैकल्पिक शक्तिका रूपमा अघि सारेका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले जनताको आवाजलाई नीति निर्माणसम्म पुर्याउने र क्षेत्रको समग्र विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाए।
स्थानीयवासीहरूका अनुसार यस पटकको चुनाव केवल उम्मेदवार चयनको विषय नभई पुरानो राजनीतिक अभ्यासलाई चुनौती दिने अवसर हो। घरदैलोमा देखिएको उत्साह र समर्थनले पर्सा–२ मा राजनीतिक परिवर्तनको लहर सुरु भएको संकेत दिएको छ।



