बारा । बारामा जसपा नेपालले आफ्नो २८ बुँदे माग जन–जनमा पुर्याउने उद्देश्यसहित सुरु गरेको राष्ट्रिय जनजागरण अभियान सक्रिय रूपमा सञ्चालन भइरहेको छ। सोही अभियानअन्तर्गत बाराको निर्वाचन क्षेत्र नं।–४, परवानिपुर चौकमा आयोजना गरिएको कार्यक्रम क्षेत्रीय अध्यक्ष सञ्जु साहको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै साहले देश हाल असमानता, अस्थिरता र अपमानजनक प्रतिनिधित्वको चक्रमा फसेको भन्दै कडा टिप्पणी गरे। उनले भने,
“हामीले जनता अघि तीन स्पष्ट सत्य बोलेका छौँ।”
त्यसअन्तर्गत—
प्रत्यक्ष निर्वाचित कार्यकारी — अब प्रधानमन्त्री दलहरूको सम्झौताबाट होइन, जनताको मतपत्रबाट बन्नुपर्ने व्यवस्था।
पूर्ण समानुपातिक समावेशी संसद — भागबण्डाको मञ्च नभई नेपालजत्तिकै विविध समाजको वास्तविक प्रतिबिम्ब हुने संरचना।
जनसंख्या आधारित निर्वाचन क्षेत्र — “जहाँ जनता बढी, अधिकार पनि त्यहीँ बढी,” समानताको वास्तविक आधार यही भएको उनको भनाइ।
परवानिपुर चौकमा युवा, किसान, मजदूर, व्यापारी, महिला र जेन जी पुस्ताको उल्लेखनीय सहभागिता र उत्साहप्रति प्रतिक्रिया जनाउँदै साहले भने,
“देश परिवर्तनको मनस्थितिमा छ। नयाँ पुस्ता भागबण्डाको राजनीति होइन, संरचना सुधारको राजनीति चाहन्छ।”
उनका अनुसार जसपा नेपालको २८ बुँदे माग कुनै साधारण राजनीतिक दस्तावेज मात्र नभईद समानता, समावेशिता र न्यायपूर्ण राज्य संरचना निर्माणको राष्ट्रिय प्रतिज्ञा हो।
कार्यक्रमको अन्त्यमा साहले परवानिपुरका दाजुभाइ–दिदीबहिनीहरूलाई धन्यवाद दिँदै भने,“तपाईँहरूको हौसला नै हाम्रो शक्तिको आधार हो।”
© 2024



