वीरगञ्ज— भारतमा अवैध रूपमा बसोबास गर्दै आएका बंगलादेशी र रोहिंग्या समुदायका व्यक्तिहरू गैरकानुनी रूपमा नेपाल प्रवेश गरिरहेको सूचना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्साको गम्भीर ध्यानाकर्षण भएको छ।
जिल्ला प्रशासन कार्यालय ९जअप्रका० पर्साले बुधबार सूचना जारी गर्दै वीरगञ्जसहित सबै सीमा नाकामा सुरक्षा निगरानी कडा बनाइएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी सूचनामा सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्तिहरू प्रवेश गर्न सक्ने आशंका कायमै रहेको बताइएको छ।
उनका अनुसार सुरक्षा निकायलाई कडाइका साथ चेकजाँच, सोधपुछ र अनुगमन गर्न निर्देशन दिइएको छ। कुनै शंकास्पद व्यक्ति जिल्लामा देखिएमा नजिकको सुरक्षानिकायलाई तत्काल जानकारी दिन जअप्रकाले स्थानीयहरुलाई अपिल गरेको छ।
सूचनामा परिचय नखुलेका वा अपरिचित व्यक्तिहरूलाई घरमा बस्न नदिन, कुनै कामकाजमा नलगाउन जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आग्रह गरिएको छ।
यसअघि मंसिर १४ गते पर्साका जेनजी युवा समूह र हिन्दु सम्राट सेना नेपालले जअप्रका पर्सामा ज्ञापनपत्र बुझाउँदै भारतबाट लखेटिएका बंगलादेशी–रोहिंग्या व्यक्तिहरू विभिन्न नाकाबाट नेपाल प्रवेश गर्न थालेको दाबी गरेका थिए।
खुला सीमाको दुरुपयोग बढ्दै गएको, भारततर्फबाट घुसपैठ, मानव तस्करी र संगठित अपराध बढिरहेको भन्दै सीमा सुरक्षा मजबुत बनाउन उनीहरूले माग गरेका थिए।



