पर्सा । स्वास्थ्य कार्यालय पर्साले आइतबारदेखि सुरु गरेको वार्षिक समीक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ। बीरगञ्जस्थित क्लासिक बैंक्वेटमा आयोजित दुईदिने कार्यक्रममा आर्थिक वर्ष २०८१र८२ का स्वास्थ्य कार्यक्रमहरूको प्रगति, चुनौती तथा आवश्यक सुधारका उपायबारे विस्तृत समीक्षा गरिएको थियो।
कार्यक्रममा विभिन्न शीर्षकमा प्रस्तुत प्रगतिसँगै बालबालिकाको नृत्य प्रस्तुति, स्वास्थ्यकर्मीको समाजसेवा तथा जिम्मेवारीबारे समेत छलफल गरिएको थियो। पहिलो दिन रोग नियन्त्रण, पोषण, योजना तथा प्रशासन क्षेत्रमा भएको उपलब्धि र कमजोरीबारे विश्लेषण गरिएको थियो।
कार्यक्रममा पर्सा जिल्ला मधेस प्रदेशका आठ जिल्लामध्ये लगातार तीन वर्ष प्रथम रहिआएको तथ्य पनि सार्वजनिक गरिएको थियो।
स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका महिला स्वास्थ्य स्वयंसेविका तथा स्थानीय तहसँगको सहकार्यबाट प्राप्त उपलब्धिलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो। यस वर्ष पहिलोपटक जिल्लाका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका सम्मानित भए, जसअन्तर्गत १३ पालिकाबाट एक–एक जना तथा वीरगञ्ज महानगरपालिकाबाट दुई जना गरी १५ जना स्वयंसेविकालाई सम्मान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
समापन कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झाको अध्यक्षतामा सम्पन्न भएको थियो भने मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपाने प्रमुख अतिथि रहेका थिए।



