पर्सा – वीरगञ्ज महानगरपालिका वडा नं। २० का वडाध्यक्ष रामकिशोर सिंह परागले आठ वर्षदेखि खाल्डो खनेर अलपत्र अवस्थामा रहेको करिब ८ किलोमिटर लामो सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गरेका छन्।
सिंहले पर्सा प्रमुख जिल्ला अधिकारीमार्फत सहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापनपत्र बुझाउँदै हरपतगंज हाईवे, अपौनी, उदयपुर घुर्मि, सौराहा लगायतका टोलहरू जोड्ने उक्त सडक वर्षौंदेखि अधुरो रहेको उल्लेख गरेका छन्।
उनका अनुसार, कन्ट्राक्ट नम्बर DUDBC/Parsa/2074-075/NCB-08 अन्तर्गत पर्ने सडकमा ठेकेदारले गहिरो खाल्डो खनेर काम छाडेपछि स्थानीयहरू हैजा, मलेरिया र डेगुँजस्ता रोगको जोखिममा परेका छन्। सडकमा जमेको पानी र फोहरले आवतजावतमा समेत गम्भीर समस्या उत्पन्न भएको वडाध्यक्ष सिंहले बताए।
सिंहले विगत ८ वर्षमा १३ पटकसम्म समय दिइए पनि काम पूरा नभएको गुनासो गर्दै, मन्त्रालयको पहलमा अपूरा काम तुरुन्तै सम्पन्न गरी ग्रेभल बिछ्याएर बाटो सञ्चालनयोग्य बनाउन आग्रह गरेका छन्।
यसअघि सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, वीरगञ्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पटक–पटक जानकारी गराए पनि ठोस पहल नभएको वडाध्यक्षको भनाइ छ।



