वीरगन्ज — स्टार्टअप उद्यम र व्यावसायमा महिलाको सहभागिता अझै न्यून रहेको भन्दै सरोकारवालाहरूले यसलाई बढाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं र मधेस प्रदेशको संयुक्त आयोजनामा, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सशक्त महिला, समृद्ध नेपाल कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा वीरगन्जमा आयोजित मधेस प्रदेशस्तरीय संवाद कार्यक्रममा सहभागीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।
कार्यक्रमकी प्रमुख अतिथि डा. सुष्मा तिवारी द्विवेदीले महिलाहरूले हरेक चुनौतीको सामना गर्दै स्टार्टअप उद्यम र व्यावसायमा सक्रिय भई देशको आर्थिक विकासमा योगदान दिइरहेको बताइन्। उनले महिलाको नाममा जग्गा दर्तामा ३० प्रतिशत छुटको कानूनी प्रावधानले महिलाको स्वामित्व बढाएको भए पनि उद्यम–व्यवसायमा वास्तविक सहभागिता अझै न्यून रहेको उल्लेख गरिन्।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष तथा महासंघ मधेस प्रदेश रोजगारदाता समितिका संयोजक हरि गौतमले महिलामा पुरुषभन्दा बढी इमान्दारिता हुने भन्दै उनीहरूको सहभागिता बढाउन आवश्यक रहेको बताए।
त्यस्तै, महासंघका सहायक निर्देशक हरि पौडेलले राष्ट्रिय स्टार्टअप कोष मार्फत कर्जा कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदै, महिलालाई बढीभन्दा बढी स्टार्टअप उद्यममा सहभागी गराउने उद्देश्य रहेको बताए। उनले महासंघ स्टार्टअप एन्ड इन्नोभेशन फोरमकी सभापति जुना माथेमाले तयार पारेको स्टार्टअप नीति बारे पनि प्रस्तुतीकरण गरे।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका सहसचिव अनुप अग्रवालले मधेस प्रदेशमा स्टार्टअपको अवधारणा, सम्भावना र विद्यमान अवस्थामाथि कार्यपत्र प्रस्तुत गरेका थिए। औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेशकुमार गुप्ताले हालसम्मको स्टार्टअप कर्जा वितरण प्रक्रिया र अवस्थाबारे जानकारी गराए।
संवाद कार्यक्रममा प्रदेश तथा स्थानीय सरकारका प्रतिनिधि, महिला उद्यमी, युवा व्यवसायी, विभिन्न युएन एजेन्सीका प्रतिनिधि तथा महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।



