वीरगन्ज । आउँदो असार २२ गते आइतबार मनाइने मुस्लिम धर्मावलम्बीहरूको प्रमुख पर्व मोहर्रम अन्तर्गतको ुबाना भाज्नेु कार्यक्रमको स्थललाई लिएर वीरगन्जमा सुरक्षा संवेदनशीलता र राजनीतिक अडानबीच टकराव सतहमा आएको छ।
जिल्ला सुरक्षा समितिले पुरानो बसपार्कमा कार्यक्रम गर्दा सुरक्षा जोखिम बढ्ने भन्दै कार्यक्रम स्थल परिवर्तन गरी आदर्शनगर रंगशाला सार्न अनुरोध गरेको छ। तर वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भने परम्परागत स्थल पुरानो बसपार्कमै कार्यक्रम गराउन अपील गरेका छन्।
जिल्ला प्रशासन कार्यालय पर्साद्वारा हिजो महानगरलाई पठाइएको पत्रमा पुरानो बसपार्कमा कार्यक्रम गर्दा ूसंवेदनशील सुरक्षा स्थिति उत्पन्न हुन सक्नेू स्पष्ट उल्लेख गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल रेग्मीले हस्ताक्षर गरेको पत्रमा मोहर्रममा ठूलो संख्यामा सहभागिता हुने भएकाले पुरानो स्थल ूजोखिमयुक्तू मानिएको र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार रंगशालामा कार्यक्रम सार्नु उचित हुने जनाइएको छ।
तर सुरक्षा निकायको चेतावनीका बाबजुद, महानगर प्रमुख राजेशमान सिंहले भने पहिलेकै निर्णय अनुसार कार्यक्रम पुरानो बसपार्कमै गराउन जोड दिँदै आएका छन्। उनको यस अडानलाई केही राजनीतिक दलहरूको समेत समर्थन प्राप्त भएको छ, जसले स्थानीय राजनीतिक र प्रशासनिक निकायबीच तालमेलको अभाव झल्काउँछ।
एकातर्फ सुरक्षा संयन्त्रले संभावित जोखिम औंल्याउँदै वैकल्पिक स्थलको सिफारिस गरेको छ भने, अर्कोतर्फ परम्परा, जनभावना र राजनीतिक दबाबको नाममा त्यसै जोखिमयुक्त स्थलमा कार्यक्रम गराउने प्रयास भइरहेको छ।
मोहर्रम मुस्लिम समुदायको लागि गहिरो धार्मिक र सांस्कृतिक महत्व राख्ने पर्व हो। ‘बाना भाज्ने’ कार्यक्रम लगायतका गतिविधिमा ठूलो संख्यामा सहभागिता हुने भएकाले सुरक्षा संवेदनशीलता अत्यन्तै उच्च रहने विशेषज्ञहरूले बताउने गरेका छन्।
यस सन्दर्भमा, यदि सुरक्षामा चूक भई कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी कोलिनुपर्ने भन्ने प्रश्न अहिले नै उठ्न थालेको छ। यसले प्रशासनिक निर्णयमाथि राजनीतिक हस्तक्षेप र त्यसबाट उत्पन्न सम्भावित संकटबारे गम्भीर बहस सुरु गराएको छ। सभार मधेश संचार



