वीरगन्ज — वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि पर्यटन प्रवर्द्धन, आधुनिक सेवा सुविधा र ऐतिहासिक स्मृतिको संरक्षणमा केन्द्रित विशेष योजनाहरू सार्वजनिक गरेको छ। सोमबार सम्पन्न नगरसभाको १३औं अधिवेशनमा मेयर राजेशमान सिंहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वीरगन्जको समृद्धि यात्रालाई थप गति दिने दावी गरे।
महानगरले सार्वजनिक गरेको योजनामा प्रमुख आकर्षणको रुपमा ‘अलौ पर्व संग्रहालय’ र ‘रेल्वे म्युजियम’ को निर्माण रहेको छ। वीरगन्ज–१७ स्थित ऐतिहासिक ‘अलौ पर्व’को स्मृतिमा संग्रहालय निर्माण गरिने छ, जहाँ १९०४ सालको महत्वपूर्ण ऐतिहासिक घटनाका दस्तावेज, सामग्री र चित्रहरू राखिनेछन्। यसका साथै, वीरगन्जको ऐतिहासिक रेल सेवालाई स्मरणीय बनाउँदै ‘रेल्वे म्युजियम’ स्थापना गरिनेछ।
शिक्षा र स्वास्थ्यमा नविनतम कार्यक्रम
नीति तथा कार्यक्रममा ‘एक विद्यालय, एक स्मार्ट कक्षा’, सबै सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच, निःशुल्क एसईई तयारी कक्षा, र ३२ वडामा सामुदायिक पुस्तकालय स्थापना जस्ता कार्यक्रमले शिक्षा क्षेत्रलाई डिजिटल र समावेशी बनाउने लक्ष्य लिएको छ।
स्वास्थ्य सेवाका क्षेत्रमा वीरगन्ज–२८ मा नमुना अस्पताल, वीरगन्ज–२३ मा सहुलियत दरको ल्याब सेवा, वीरगन्ज–१६ मा बीपी कोईराला क्यान्सर अस्पताल र ‘महानगर फार्मेसी’ सञ्चालन गरिने योजना सार्वजनिक गरिएको छ।
हरित तथा सुन्दर महानगरको अवधारणा
वीरगन्जको मध्य भागमा रहेको वर्षौंदेखि खाली रहेको जग्गामा ‘विपि उद्यान’ निर्माण गरी हरित, सुव्यवस्थित र शहरी सौन्दर्ययुक्त वातावरण विकास गरिने योजना पनि नीति कार्यक्रममा उल्लेख छ।
भोजपुरी संस्कृतिको अन्तर्राष्ट्रिय प्रचार
स्थानीय भाषा र पहिचानलाई बचाउने लक्ष्यसहित वीरगन्जमा ‘अन्तर्राष्ट्रिय भोजपुरी सम्मेलन’ आयोजना गरिनेछ। यसले वीरगन्जलाई भाषिक तथा सांस्कृतिक केन्द्रको रुपमा प्रस्तुत गर्ने मेयर सिंहको विश्वास छ।
समुन्नत वीरगन्जको परिकल्पना
‘वैभव वीरगन्ज’को सपना साकार पार्ने उद्देश्यसहित प्रस्तुत कार्यक्रममा योजना–मुखी शहरी विकास, प्रभावकारी डिजिटल प्रशासन, धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण, र सुशासनयुक्त महानगर निर्माण जस्ता महत्वाकांक्षी योजनाहरू समेटिएका छन्।
मेयर सिंहको अध्यक्षतामा सम्पन्न नगरसभामा उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, ३२ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो।




