पर्सा — सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर गाउँपालिकाको समग्र विकासमा जोड दिएको बताएका छन्।
शनिबार सृजनशील महिला सिप विकास केन्द्रको समन्वयमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई समानरूपमा अगाडि बढाइएको जानकारी दिए।

सीमित स्रोतमा पनि जनमुखी काम
“केंद्र र प्रदेश सरकारबाट सीमित बजेट प्राप्त भए पनि गाउँपालिकाले जनताको आवश्यकता र मागलाई ध्यानमा राख्दै विकास निर्माणका कार्यहरू अगाडि बढाएको छ,” अध्यक्ष यादवले भने।
उनले चालु आर्थिक वर्षमा कार्यान्वयन भएका योजनाहरू तथा तिनबाट प्राप्त उपलब्धिबारे पनि विस्तृत विवरण सार्वजनिक गरे। “जनताले विगत र वर्तमान नेतृत्वको कामको तुलना गरिरहेका छन्,” उनले थपे।
प्रशासनिक भवन विवादमा कडा अडान
गाउँपालिकाको प्रशासनिक भवन कुनै व्यक्तिको निजी जग्गामा नबन्ने उनले स्पष्ट पारे। “हाल म दुईवटा मुद्दा खेपिरहेको छु, तर कुनै हालतमा निजी जग्गामा प्रशासनिक भवन बनाउने छैन,” यादवले बताए। उनका अनुसार भवन पुरानो आर्मी ब्यारेकको जग्गामा निर्माणाधीन अवस्थामा छ र यही कार्यकालमा सम्पन्न गर्ने योजना छ।
दुरुपयोगविरुद्ध कडा चेतावनी
स्रोत साधनको दुरुपयोगमा शून्य सहनशीलताको नीति अपनाइएको भन्दै यादवले भने, “यदि कसैले अनियमितता गरेको प्रमाण छ भने मलाई ल्याउनुहोस्, कारबाही हुन्छ।”
राजनीति नगर्न आग्रह
कार्यक्रममा केही सहभागिहरूले असन्तुष्टि जनाएपछि यादवले विकासका विषयमा राजनीतिबाट टाढा रहन आग्रह गरे। “राजनीतिक मतभेदका लागि अन्य थलो छन्, तर यस्तो सार्वजनिक मञ्चमा तथ्यमा आधारित छलफल गर्नुपर्छ,” उनको भनाइ थियो।
कार्यक्रममा प्रशासकीय अधिकृतको जवाफ
विद्यालयका दिवा खाजा, इन्धन तथा अन्य खर्चसम्बन्धी प्रश्नको उत्तर प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहाले दिए।
व्यापक सहभागिता
दीपनारायण आदर्श माध्यमिक विद्यालयको प्रांगणमा आयोजित कार्यक्रममा उपाध्यक्ष शर्मिला विष्ट, वडाध्यक्षहरू, गाउँसभा सदस्य, शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी, सञ्चारकर्मी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।



