वीरगन्ज,९ मंसिरःमधेस प्रदेशमा चालू आर्थिक २०८१र८२ को पहिलो ४ महिनामा नेपाल प्रहरीमा कार्यरत विभिन्न दर्जाका ७२ जना प्रहरी विभागीय कारबाहीमा परेका छन । आठ जिल्ला रहेको मधेस प्रदेशमा नेपाल प्रहरीका २७० जना प्रहरी पुरस्कृत हुँदा ७२ जना कारबाहीमा परेका हुन् ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्यांकअनुसार मधेस प्रदेशमा कार्यरत प्रहरी उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मले पुरस्कार पाएका छन् । यस्तै, प्रहरी वरिष्ठ नायब निरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मका प्रहरीहरूले मात्र कारबाही भोगेका छन् ।
मधेस प्रदेशमा प्रहरी उपरीक्षक पाँच जना, प्रहरी नायब निरीक्षक ६ जना र प्रहरी निरीक्षक १५ जनाले पुरस्कार पाएका छन् । चालू आर्थिक वर्षको चार महिनामा प्रहरी वरिष्ठ नायब निरीक्षक १० जनाले पुरस्कार पाउँदा एकजना कारबाहीमा परेका छन् ।
यस्तै, प्रहरी नायब निरीक्षक २४ जनाले पुरस्कार पाउँदा उक्त दर्जाका एक जना कारबाहीमा परेको मधेस प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले जानकारी दिए ।
उनका अनुसार प्रहरी सहायक निरीक्षक ४१ जनाले पुरस्कार पाउँदा उक्त दर्जाका ६ जनालाई कारबाही गरिएको छ । यस्तै, प्रहरी वरिष्ठ हवल्दार २५ जनाले पुरस्कार पाउँदा उक्त दर्जाका ५ जनालाई कारबाही तथा प्रहरी हवल्दार ३९ जनाले पुरस्कार पाउँदा उक्त दर्जाका १४ जनालाई कारबाही भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, प्रहरी सहायक हवल्दार ३५ जनाले पुरस्कार पाउँदा उक्त दर्जाका १० जना कारबाहीमा परेका छन् । प्रहरी जवान ६४ जनाले पुरस्कार पाउँदा उक्त दर्जाका ३१ जना र प्रहरी कार्यालय सहयोगी ६ जनाले पुरस्कार पाउँदा उक्त दर्जाका ४ जना कारबाहीमा परेको बोहराले बताए ।
बोहराका अनुसार, मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८०र८१ मा भने १ हजार ४६३ जना पुरस्कृत हुँदा २ सय ८७ जना कारबाहीमा परेका थिए । साभार – नयाँपत्रिका



