वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । २३ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छप्कैयास्थित श्री बविता आधारभुत विद्यालयमा शिविर सम्पन्न भएको हो ।
सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यको अध्यक्षतामा सम्पन्न शिविरको उद्घाटन जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको चेकजाँच गरेर गरिएको थियो । शिविरमा बालबालिका, महिला, बृद्ध लगायत २५० जना भन्दा बढीको चेकजाँच गरिएको थियो ।
प्रभु अस्पतालसँगको सहकार्यमा सम्पन्न शिविरमा बरिष्ठ फिजिसियन डा. शिव झा, बरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. अर्विन्द कुमार साह, दन्त रोग विशेषज्ञ ज्योती गुप्ता लगायतले चेकजाँच गरेका थिए । शिविरमा दाँत, हड्डी, नशा तथा फिजिसियन सम्बन्धी चेकजाँच गरिएको थियो । आवश्यक्ताअनुसार बिरामीहरुलाई निशुल्क औषधी समेत वितरण गरिएको थियो ।
शिविरमा सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह, प्रभु अस्पतालका सञ्चालक एवम् बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा, डा. मनोज गुप्ता, सामाजिक अभियानता दिलिपराज कार्की लगायतको उपस्थिती रहेको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठले जानकारी दिए ।
शिविरमा सुरज सर्राफ, राज सर्राफ लगायतका युवाले स्वयमसेवकको भूमिका निर्वाह गरेका थिए भने स्थानीय युवा रविन्द्र महतोले कार्यक्रमको सहजीकरण गरेका थिए ।



