वीरगञ्ज । केहिदिन यता शीतलहरसंगै चिसाे बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले वडाहरुकाे चोकचोकमा दाउरा बालेर आगाे ताप्ने व्यवस्था मिलाएकाे छ ।
तत्कालका लागि लगभग २ सय क्विन्टल दाउरा ल्याएर वीरगन्ज महानगरपालिकाले महानगरका विभिन्न वडाकाे चोक , अस्पताल र सार्वजनिकस्थलमा मंगलबारदेखि आगो बालेर ताप्ने व्यवस्था मिलाउन सुरु गरेकाे हाे।
महानगरका मेयर राजेशमान सिंहकाे निर्देशनमा नगर प्रहरी र कर्मचारीहरुको टोलीले वडा अध्यक्षहरुकाे समन्वयमा घणटघर ,माइस्थान,मालपाेत ,वीर्ता चाेक,नारायणी अस्पताल,श्रीराम हल चौक ,मुर्लि चाैक ,रानीघाट मठ,बसपार्क, ६ नंबर गेट अगाडि लगायतका सार्वजनिकस्थलहरूमा दाउरा वितरण गरी आगाे ताप्ने व्यवस्था मिलाएकाे महानगरका सरसफाइ व्यवस्थापन महाशाखाका प्रमुख सर्फुदिन मियाँले जानकारी गराए ।
अब महानगरका ग्रामीण भेगका वडाका सार्वजनिक स्थानहरुमा पनि दाउरा बाँडेर आगाे ताप्ने व्यवस्था मिलाइने मियाँले बताए।
वीरगञ्जमा शितलहरको शुरूवात भएसंगै जाडाेबाट महानगरबासीलाई राहत मिलाेस् भनेर ३२ वटै वडाका सार्वजनिक स्थलमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइएकाे मेयर सिंहले बताए ।
महानगरले यसअघि चिसाे बढेसंगै महानगरका सम्पूर्ण विद्यालयमा पुष २३ देखि माघ १ गतेसम्म आठ दिनका लागि पठनपाठन बन्द गरिसकेकाे छ।



