वीरगञ्ज । लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानअन्तर्गत बुधवार पर्साको सखुवाप्रसौनी गाउँपालिकामा जनचेतनामूलक र्याली कार्यक्रम सम्पन्न भएको छ ।
“महिला तथा बालबालिकामा लगानीको ऐक्यबद्धता : लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता” भन्ने मूल नाराका साथ गाउँपालिकाअन्तर्गत कार्यरत दुई सय जना स्वयंसेविका शिक्षिका तथा निर्वाचित सदस्यहरूको सहभागितामा औराहा पचगावा गाउँ परिक्रमा गरी जनचेतनामूलक कार्यक्रम समापन भएको थियो ।
दलित महिला केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रम सखुवा प्रसौनी गाउँपालिका, मेरीस्टोप, बाल क्लब, फेडो, किशोरी समूह तथा महिला अधिकारको लागि राष्ट्रिय अभियान लगायतले समन्वय गरेका थिए ।
कार्यक्रममा सहभागी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद रौनियारले लैङ्गिक हिंसा परिवार मात्र नभई समाजलाई नै विघटन गर्ने गरेको बताए । उनले समयको परिवर्तनसँगै महिलामाथि मात्र नभई पुरुष तथा एलजीबीटीक्युआइए समुदायका व्यक्ति पनि सिकार हुने गरेकोले यस प्रति सरकार जागरूक रहेको बताए । उनले यस्तो कार्यक्रममा महिलाको सहभागिता मात्र नभई पुरुष र एलजीबीटीक्युआइए समुदायका सदस्यहरूलाई पनि पनि सहभागी गराउन जोड दिए ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतोले यस प्रकारका कार्यक्रम १६ दिनको मात्र नभई विद्यालय स्तरदेखि नै गराउनु पर्ने बताइन । उनले पाठ्यक्रममा लैङ्गिक हिंसा र भेदभावका विषयमा अध्यापन गराए पनि त्यो पर्याप्त नरहेको जिकिर गरिन । महतोले समाजमा थप यस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर आयोजना गर्न आग्रह पनि गरिन ।
समुदायका अधिकांश महिलामाथि हिंसा हुने गरेको र महिलाहरू समेतले महिलामाथि हिंसा गर्ने गरेकोले घटनाहरू बाहिर पनि नआउने गरेको उनको भनाई थियो । समाज जागरूक नभएसम्म महिलामाथिको हिंसा अन्त्य हुन् नसक्ने उनले भनाई थियो ।
गाउँघरमा छोरा र छोरीबिचमा हुने विभेद अझै पनि कायम रहेकोले बालिकाहरू भविष्यका दिनमा थप समस्याको सिकार हुने गरेकाले बताइन । उनले लैङ्गिक हिंसा अन्त्य गर्न शिक्षा अपरिहार्य रहेको बताइन । महतोले कार्यक्रम सहभागी महिला शिक्षकहरूलाई कक्षा कोठामा पनि छात्राहरूमाथि हुने हिंसाको विरुद्ध जागरूक बनाउन आग्रह गरिन ।
कार्यक्रममा सहभागी अभियन्ता सुमित्रा पन्तले भने फरक विचार राखिन । उनले महिलाले महिलामाथि हिंसा नगर्ने गरेको बताइन । पितृसत्तात्मक समाजमा पुरुषबाट महिलाहरू घर, बाटोदेखि प्रत्येक सार्वजनिक स्थानमा महिलाहरू हिंसाको सिकार हुने गरेको बताइन । त्यसैले महिलाले महिलामाथि हिंसा गर्ने कुरा स्वीकार गर्न नसकिने उनको तर्क थियो ।
आयोजक संस्थाकी लैङ्गिक विमर्शकर्ता निला रामले समाजमा अझै पनि रुढीवादी परम्परा तथा विकृति व्यापक रहेका कारण महिलाहरू नै बढी हिंसाको सिकार हुने गरेको बताइन । कार्यक्रमको सहजीकरण सामाजिक शाखा प्रमुख विनोद प्रसाद यादवले गरेका थिए ।



