वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा जरिवानाबापत ६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
सडकमा जथाभाबी फोहर फ्याँक्नेसँग गत २०७९ पुस १७ गतेदेखि जरिवाना तिराउन सुरु गरेको महानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि हालसम्म विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट ६ लाख १७ हजार जरिवाना सङ्कलन गरेको हो ।
महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमुना महानगर बनाउने उद्देश्यका साथ नियमित सरसफाइसँगै जथाभाबी फोहर फ्याल्नेलाई जरिवाना गर्दै आएको मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दासमेत चलाउने तयारी गरेको छ ।
महानगरका सडक तथा गल्लीमा जथाभाबी फोहर फ्याल्नेसँग जरिवाना तिराउँदै आएको महानगरपालिकाले अब जरिवानासँगै फोहर फ्याँक्नेउपर सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फुदीन मियाँले जानकारी दिए ।
उनका अनुसार गत आव २०७९/८० मा जरिवानाबाट १५ लाख ३६ हजार पाँच सय पाँच राजस्व सङ्कलन भएको छ । ‘घर, पसल र कार्यालयबाट निस्कने फोहर जताततै फ्याँक्ने स्थानीयहरूमा प्रवृत्ति छ’, सरसफाइ शाखा प्रमुख मियाँले भने, ‘त्यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले फोहर फ्याँक्नेलाई जरिवाना गर्ने अभियान सुरु गरेका छौँ ।’ यो अभियानलाई थप प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने योजना बनाएको उनको भनाइ छ ।
सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सरसफाइ गर्दै आएको छ । महानगरपालिको वडा नम्बर १ देखि ३२ वटै वडामा वीरगञ्जस्थित पृथ्वी तारा एमके इनरनेसनल जेभीसँग गत २०७६ साल जेठ २ सम्झौता गरी नियमित सरसफाइ गर्दै आएको छ ।
विगतमा डम्पिङ साइट नहुँदा फोहर मैला व्यवस्थापनमा समस्या हुँदै आएकामा चार वर्षअघि महानगरले आफ्नो डम्पिङ साइट बनाएपछि फोहर मैला व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको उनले बताए । विगत केही वर्ष अघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरका रूपमा परिचित महानगर क्षेत्रलाई सरसफाइ दृष्टिले मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि यति बेला वीरगञ्ज महानगर क्षेत्र सफा र सुन्दर देखिन थालेको हो



