वीरगञ्ज,०३ कार्तिक । नेपालीहरूको ठूलो पर्वमध्ये एक दशैंको अवसर पारेर वीरगन्जमा आयोजित पाँच दिने “रात्रि बजार” सफलता पूर्वक सम्पन्न भएको छ । कोभिड महामारीले थलिएको अर्थतन्त्रलाई उकास्ने उद्देश्यका साथ वीरगन्ज महानगरपालिकाले विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा यहाँस्थित पूरानो बसपार्कमा असोज २८ गते बडादशैंको पहिलो दिन घटस्थापनादेखि सुरु गरेको पाँच दिने रात्रि बजार बिहीबार सम्पन्न भएको हो ।
यसअघि महानगरले प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबार गरेर दुई दिनका लागि लगाउने रात्रि बजार यस पटक दशैंको अवसर पारेर पाँच दिनको लागि लगाइएको वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले बताए । उनले पाँच दिनसम्म चलेको रात्रि बजार झन्डै एक लाख आन्तरिक र बाह्य पर्यटकले अवलोकन गरेको दाबी समेत गरे ।
झन्डै ६० वटा स्टल राखिएको रात्रि बजारमा अवलोकन गर्न आउनेहरूको मनोरञ्जनका लागि खेलकुद सम्बन्धी गतिविधिका साथै विभिन्न सांस्कृतिक एवम् साङ्गीतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको बजारमा व्यापार पनि राम्रै भएको व्यवसायीहरूले बताएका छन् ।
रात्री बजारमा वीरगञ्जसहित पर्सा जिल्लाको अन्य स्थानीय तहदेखि छिमेकी जिल्ला बारा र रौतहटसमेतबाट पर्यटकहरू आएको मेयर सिंहले बताए । ‘सामान्यता १० बजे नै बन्द हुने वीरगन्जस्थित नाकालाई पनि रात्रि बजारको अवधिभरि १२ बजेसम्मका लागि खुल्ला गरिएको थियो,’ उनले भने, ‘जसले गर्दा बजारमा भारतीय पर्यटक पनि पुगेका थिए ।’
बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाँडाकुँडा लगायतका सरसामानका स्टल सहित दैनिक उपभोग्य बस्तुहरू समेत राखिएको थियो । बजारमा प्रत्येक दिन देश र भारतबाट आएका कलाकारहरूले समेत आफ्नो प्रस्तुति देखाएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय, ग्रिन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, नेपाली युवा उद्यम मञ्च ‘एनवाइईएफ’ वीरगञ्ज, वीरगञ्ज साइक्लिङ क्लब, वुमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्री बजारको आयोजना गरेको थियो ।



