वीरगञ्ज, २२ भदौ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका नागरिकहरूको चिरशान्तिको कामना गर्दै वीरगञ्ज कपडा बैंकले दीप प्रज्वलनसहित श्रद्धाञ्जली अर्पण गरेको छ।
वीरगञ्ज कपडा बैंकको वीरगञ्ज–८ स्थित कार्यालयमा सोमबार साँझ आयोजित कार्यक्रममा बाढीमा परी दिवंगत भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो। कार्यक्रममा एक मिनेट मौनधारणसमेत गरिएको थियो।
सो अवसरमा बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गरिएको थियो।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा समाजसेवी अधिवक्ता पन्नालाल गुप्ता, समाजसेवी प्रकाश उपाध्याय, वरुण चौरसिया, हुकुम सिंह राजपुत, श्रवणबहादुर रायमाझी, नेपाल बार एसोसिएसन पर्साका सदस्य आशुतोष तिवारी, समाजसेवी दीपक खड्गी, सुशीला देवी, कोषाध्यक्ष मनोज मिश्रा, जानकी देवी, संजय मण्डल, नवराज भट्टराई, केदार गुप्तालगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा अधिवक्ता पन्नालाल गुप्ताले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै विपद्को यस कठिन घडीमा सबै पक्ष एकजुट भएर पीडितको साथमा उभिनुपर्ने बताए।
उनले “मानवता बलियो बनाउन सबै मिलेर पीडितहरूको घाउमा मलहम लगाउनुपर्छ” भन्दै राहत, उद्धार तथा सहयोगका कार्यमा सक्रिय हुन सबैलाई आग्रह गरे। साथै उनले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे।
वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहले पनि प्राकृतिक विपद्को यस कठिन परिस्थितिमा सबैले हातेमालो गर्दै पीडितहरूको सेवा र सहयोगमा जुट्नुपर्ने बताए। उनले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे।
सिंहले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामनासमेत गरेका छन्।


