वीरगंज शिशु जन्मिनेबित्तिकै ‘पहिलो खोप’ का रूपमा स्तनपान गराउन सुझाव दिइएको छ । आधुनिक चिकित्सा विज्ञानले शिशु जन्मनेबित्तिकै आमाको दुधभन्दा सुरक्षित, पूर्ण र प्रभावकारी पोषणको विकल्प अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।
परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा। श्रीप्रसाद अधिकारीले आमाको काखमा टाँसिएर जीवनको पहिलो पटक दुध चुस्ने क्षण भोक मेटाउने प्रक्रिया मात्र नभई जीवनभरको स्वस्थ यात्राको सुरुवात भएको बताउनुभयो । “प्रकृतिले नवजात शिशुलाई दिएको पहिलो उपहार आमाको दुध हो,” डा। अधिकारीले भन्नुभयो, “जसलाई विश्व स्वास्थ्य सङ्गठनले शिशु जन्मनेबित्तिकै दुध खुवाउँदा पहिलो खोपका रूपमा व्याख्या गरेको छ ।”
यस वर्ष ‘दिगो जीवनको स्वस्थ सुरुसातका लागि स्तनपान स् प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ भन्ने मूल नारासहित विश्व स्तनपान सप्ताह मनाइँदै छ । यसको उद्देश्य प्रत्येक आमा र नवजात शिशुले गुणस्तरीय स्तनपान परामर्श, सहयोग र स्तनपानमैत्री वातावरण सहज रूपमा प्राप्त गर्न
सकून् भन्ने हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान सुरु गर्नुपर्ने, पहिलो छ महिनासम्म आमाको दुध मात्र खुवाउनुपर्ने तथा त्यसपछि उपयुक्त पूरक आहारसँगै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिनुपर्ने सिफारिस गरेको छ ।
डा। अधिकारीका अनुसार आमाको दुधले शिशुलाई आवश्यक पोषक तत्व उपलब्ध गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, झाडापखाला, निमोनिया र अन्य सङ्क्रमणबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण भूमिका खेल्ने प्रमाणित भइसकेको छ ।
यस्तै बालरोग विशेषज्ञ डा। एन्जिला घिमिरेले स्तनपानले शिशुको तत्कालीन स्वास्थ्य मात्र नभई भविष्यको जीवनस्तरसमेत निर्धारण गर्ने बताउनुभयो । उहाँले पूर्ण स्तनपानले शिशुको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शारीरिक र मानसिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख गर्नुभयो । “स्तनपानको फाइदा शिशुमा मात्र सीमित छैन,” डा। घिमिरेले भन्नुभयो, “नियमित स्तनपानले आमाको प्रसूतिपश्चात् स्वास्थ्य पुनस्र्थापनामा सहयोग पु¥याउँछ ।”
डा। घिमिरेले नेपालमा स्तनपानको अवस्था सुधार हुँदै गएको देखिए पनि अपेक्षित लक्ष्य अझै पूरा हुन नसकेको जानकारी गराउनुभयो ।
नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ अनुसार ५५ प्रतिशत शिशुलाई जन्मेको पहिलो एक घण्टाभित्र स्तनपान गराइन्छ । ५६ प्रतिशत शिशुले मात्र पहिलो छ महिनासम्म पूर्ण रूपमा आमाको दुध पाउने गरेका छन् । यो तथ्याङ्कले स्तनपान प्रवर्धनमा थप जनचेतना र सहजीकरण आवश्यक रहेको देखाउँछ । यही आवश्यकतालाई सम्बोधन गर्न परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सन् २०२२ मा ‘अमृत कोष’ अर्थात् नेपालको पहिलो मानव दुध बैङ्क स्थापना गरिएको छ । निर्देशक डा। अधिकारीका अनुसार मानव दुध बैङ्कले आमाको दुध उपलब्ध हुन नसकेका नवजात शिशुको उपचारमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
बढ्दो सहरीकरण, कामकाजी आमाको सङ्ख्या वृद्धि, प्रसूति बिदापछि छिट्टै काममा फर्किनुपर्ने बाध्यता, कार्यस्थलमा स्तनपानमैत्री वातावरणको अभाव तथा आमाको दुधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको बढ्दो प्रचारप्रसार स्तनपान प्रवर्धनका प्रमुख चुनौती रहेका छन् । उहाँले यी चुनौती समाधान गर्न परिवार, स्वास्थ्य संस्था, रोजगारदाता र राज्यबिचको समन्वय अपरिहार्य रहेको बताउनुभयो । सभार गोरखापत्र


