वीरगञ्ज । लामो समयदेखि जीर्ण अवस्थामा रहेको नारायणी रंगशाला को प्याराफिट पुनर्निर्माण कार्यको बिहीबार शिलान्यास गरिएको छ।
मधेस प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी गुप्ता ले उक्त पुनर्निर्माण कार्यको शिलान्यास गरेका हुन्।
जेन–जी आन्दोलन अघिको सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको थियो। सोही बजेटअन्तर्गत ब्लक ‘सी’ को प्याराफिट निर्माणका लागि काठमाडौंस्थित अंकुर निर्माण सेवाले २ करोड १७ लाख ७२ हजार रुपैयाँ (भ्याटबाहेक) मा ठेक्का पाएको छ।
राष्ट्रिय खेलकुद परिषद का इन्जिनियर शिवचन्द्र यादव का अनुसार तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले विनियोजन गरेको बजेट निकासा भएपछि पुनर्निर्माण कार्य सुरु गरिएको हो।
हाल रंगशालाका जीर्ण प्याराफिटहरू डोजर प्रयोग गरी भत्काउने काम सुरु गरिएको छ। पहिलो चरणमा पुराना संरचना हटाएर नयाँ प्याराफिट निर्माण गरिने योजना रहेको जनाइएको छ।
पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कानु ले पनि जीर्ण संरचना हटाएर चरणबद्ध रूपमा नयाँ निर्माण कार्य अघि बढाइने जानकारी दिए।
काठमाडौंको दशरथ रंगशाला पछिको दोस्रो ठूलो (३५ हजार दर्शक क्षमता) यस रंगशालाको मर्मत र पुनर्निर्माण लामो समयसम्म प्राथमिकतामा पर्न सकेको थिएन।
स्थानीय खेलप्रेमी तथा खेलाडीहरूले करिब एक दशकदेखि रंगशाला पुनर्निर्माणका लागि दबाबमूलक आन्दोलन गर्दै आएका थिए। संघीय तथा प्रदेश संसदमा पनि यस विषयमा पटक–पटक आवाज उठाइएको थियो।
तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङ को पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा खरिद तथा अधिग्रहण गरी फुटबल, क्रिकेट र कवर्ड हल निर्माण गरिएको थियो। २०४२ सालमा निर्माण सम्पन्न भएको रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाह ले गरेका थिए।
करिब डेढ दशकअघिसम्म राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको यस रंगशाला मर्मत अभावका कारण जीर्ण बन्दै गएपछि हाल कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेको छैन।



