जनकपुरधाम — जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी निरीक्षक मनोज कुमार यादवलाई २०८२ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको छ।
मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत कार्यरत निरीक्षक यादवले फागुन महिनामा उत्कृष्ट कार्यसम्पादन गर्दै शान्ति–सुरक्षा व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
प्रहरीका अनुसार उनले मिथिला माध्यमिकी परिक्रमा मेला र होली पर्वका अवसरमा प्रभावकारी सुरक्षा योजना निर्माण गरी कार्यक्रमहरू शान्तिपूर्ण रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका थिए। साथै, जिल्लाभित्र सञ्चालन भएका विभिन्न धार्मिक, सांस्कृतिक तथा सार्वजनिक कार्यक्रमहरूमा सुरक्षा व्यवस्थापनलाई व्यवस्थित बनाउन उनले सक्रियता देखाएका थिए।
त्यसैगरी, निर्वाचन लक्षित सुरक्षा तयारीअन्तर्गत संवेदनशील क्षेत्रको पहिचान, आवश्यक प्रहरी परिचालन तथा समन्वयमा समेत उनले प्रभावकारी भूमिका निर्वाह गरेका थिए। विभिन्न राजनीतिक दलका कार्यक्रम, सभा तथा जुलुसलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन उनको योगदान महत्वपूर्ण रहेको प्रहरीको भनाइ छ।
प्रहरी संगठनप्रति समर्पण, अनुशासन र व्यावसायिक दक्षताको उच्च मूल्यांकन गर्दै निरीक्षक यादवलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।



