वीरगंज । भोजपुरी प्रतिष्ठान, वीरगंजद्वारा अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा कवि गोष्ठी कार्यक्रम सम्पन्न गरिएको छ।
प्रतिष्ठानको कार्यालयमा आयोजित कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि, सल्लाहकार तथा वरिष्ठ लेखक प्रमोद पाण्डेय, अतिथिहरू छोटेलाल साह र शिवनन्दन जैसवालको उपस्थिति रहेको थियो। साथै राकेश यादव, अनिश कान्त कुशवाहा, लिला साह, अश्मिता पटेल, अनु मेहता, माधुरी महतो लगायत साहित्यप्रेमी तथा स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पाण्डेयले ब्यानर वाचन गरी औपचारिक रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए। प्रतिष्ठानका सदस्य अमोद गुप्ताले स्वागत मन्तव्य व्यक्त गर्दै मातृभाषाको संरक्षण आजको आवश्यकता भएको धारणा राखेका थिए।
कार्यक्रम सञ्चालन श्याम सर्राफले गरेका थिए। गोष्ठीमा सहभागी कवि तथा साहित्यकारहरूले भोजपुरी भाषामा रचना वाचन गर्दै मातृभाषाप्रति प्रेम, सामाजिक चेतना र सांस्कृतिक पहिचानलाई उजागर गरेका थिए।
कार्यक्रमले मातृभाषा संरक्षण र प्रवर्द्धनका लागि सामूहिक प्रतिबद्धता दोहोर्याउँदै सम्पन्न भएको प्रतिष्ठानले जनाएको छ।



