वीरगन्ज ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगन्ज नाका हुँदै ११ अर्ब ५७ करोड रुपैयाँ मूल्य बराबरका खाद्यान्न आयात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष खाद्य पदार्थको आयातमा २१ करोड रुपैयाँको गिरावट आएको छ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको पहिलो ६ महिनामा ११ अर्ब ७८ करोड रुपैयाँ मूल्य बराबरका १६ प्रकारका खाद्यान्न आयात भएका थिए। चालु आर्थिक वर्षको सोही अवधिमा भने खाद्य पदार्थको आयातमा सामान्य गिरावट देखिएको उनले बताए।
भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ६८ करोड रुपैयाँ मूल्य बराबरको १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ। जबकी गत आर्थिक वर्षको सोही अवधिमा ६ अर्ब ९ करोड रुपैयाँ मूल्यको धान आयात भएको थियो।
यसैगरी चालु आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ४१ करोड रुपैयाँ मूल्य बराबरको मकै आयात भएको छ। त्यस्तै १ अर्ब ६१ करोड रुपैयाँ मूल्यको चामल र ३३ करोड रुपैयाँ मूल्यको माल्ट आयात भएको भन्सार कार्यालयले जनाएको छ।
भन्सार तथ्यांकअनुसार २३ करोड ७३ लाख रुपैयाँ मूल्य बराबरको फापर, कोदो तथा अन्य खाद्यान्न पनि चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात गरिएको छ।
© 2024



