वीरगञ्ज — थारु समुदायको प्रमुख पर्व माघीको अवसरमा आयोजना गरिएको खिचडी माघी महोत्सवमा यस वर्ष परम्परागत परिकार घोगिं नपाइएपछि कार्यक्रम खल्लो भएको सहभागीहरूले गुनासो गरेका छन्।
माघी (खिचडी) मूल समारोह समिति पर्सा, वीरगञ्जको आयोजनामा माघ १ गते थारु संवत् २६५० औँ नयाँ वर्षको शुभ अवसरमा आदर्शनगरस्थित स्विमिङ पुल परिसरमा खिचडी माघी महोत्सव आयोजना गरिएको थियो। महोत्सव मूल समारोह समिति वीरगञ्ज पर्साका कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीको सभापतित्व तथा लक्ष्मीनारायण बन्ठाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
वीरगञ्ज महानगरपालिका–१५ का जितेन्द्र साह माघी उत्सवमा घोगिं तथा अन्य थारु परिकार खान पुगेका थिए। तर स्टल संख्या कम हुनुका साथै घोगिं नै नपाइएपछि निराश भएर फर्किनुपरेको उनले बताए। “अन्य वर्षको तुलनामा यसपालि घोगिं नहुँदा माघी उत्सवको रौनक नै हराएको जस्तो लाग्यो,” साहले भने।
यस्तै, माघी उत्सव अवलोकन गर्न प्रसौनी गाउँपालिका–३ बाट आएका अरुण गुप्ताले पनि परिकारको अभावले उत्सवको मजा लिन नपाएको बताए। “घरबाट तिलका लड्डु नखाई उत्सवमै घोगिं, तिलका लड्डु र भुजा खाने सोचेर आएको थिएँ,” उनले भने, “तर यीमध्ये केही पनि नपाएपछि रित्तै फर्किनुपर्यो। वर्षमा एकपटक मात्रै माघीमा घोगिं खान पाइन्छ भन्ने आशा थियो, त्यो पूरा भएन।”
प्रसौनी गाउँपालिका–३ की समीता देवीले पनि स्टल सुरु भएको केही समयमै परिकार सकिनु आयोजकको कमजोरी भएको बताइन्। “यहाँ माछा, परेवा, हाँसको छौला र पुवा मात्रै छन्,” उनले भनिन्, “यी परिकार त पैसा भए वीरगञ्जका होटल–पसलमै पाइन्छन्। माघी उत्सवमा त परम्परागत खानेकुरा अनिवार्य हुनुपर्थ्यो।”

महोत्सवका प्रमुख अतिथि लक्ष्मीनारायण बन्ठाले नयाँ प्रविधिको प्रभावसँगै भाषा, संस्कार, संस्कृति र मौलिक परम्परा लोप हुँदै गइरहेकाले यस्ता पर्व र कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको बताए। उनले नयाँ पुस्ताले पुर्खाबाट प्राप्त कला, संस्कृति, भाषा, नृत्य तथा परम्परागत खानालाई संरक्षण र जगेर्ना गर्न अग्रसर हुनुपर्नेमा जोड दिए।
समारोहमा साउथजोन माध्यमिक विद्यालयका प्रिन्सिपल एवं प्याब्सन पर्साका अध्यक्ष सरोजप्रसाद चौधरी, प्रेस सेन्टर मधेस प्रदेशका अध्यक्ष निरज पिठाकोटे मगर, जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, थारु पत्रकार संघका अध्यक्ष शम्भु महतो थारु, प्रभु अस्पतालका सञ्चालक डा. लक्ष्मी थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

महोत्सवमा थारु समुदायका विभिन्न मौलिक नृत्य तथा सांस्कृतिक प्रस्तुतिहरू—घुम्टो, सामाचकेवा, झम्टा, पूर्वी थारु नाच, बालबालिकाद्वारा गीत–नृत्य तथा बाल कला प्रदर्शनी गरिएको थियो। साथै थारु परिकार केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचरलगायतका परिकारका स्टल र प्रदर्शनी राखिएका थिए।
कार्यक्रममा रोशनी श्रेष्ठ, सिलो गौतम, अभिषेक सिन्हा, सोनु कुमार दास, सुदीप चौधरी, किशोरी महतोसहित दुई महिलासमेत २० जनाले रक्तदान गरेका थिए। सांस्कृतिक संयोजक विजया ओझैया र सुरक्षा संयोजक मनोज चौधरीले कार्यक्रमको सहजीकरण गरेका थिए।



