पर्साका असहाय तथा विपन्न समुदायलाई चिसो मौसमको कहरबाट जोगाउन उपकार सेवा नेपालले न्यानो कम्बल वितरण गरेको छ। निरन्तर सेवा भावका साथ सामाजिक कार्यमा सक्रिय उपकार सेवा नेपालले रामाकान्त अग्रवालको पूर्ण आर्थिक सहयोगमा जिराभवानी गाउँपालिका–१ गम्हरियामा बसोबास गर्ने असहायहरूलाई कम्बल प्रदान गरेको हो।
चिसो मौसमको प्रभावबाट बढी जोखिममा रहेका वृद्ध–वृद्धा, अपाङ्गता भएका व्यक्ति, साधु–सन्त, एकल महिला तथा सीमान्तकृत समुदायका १०० जनालाई न्यानो कम्बल वितरण गरिएको संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले जानकारी दिनुभयो। उहाँका अनुसार कमजोर वर्गको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गर्दै यो सहयोग उपलब्ध गराइएको हो।
कम्बल हस्तान्तरण कार्यक्रममा जिराभवानी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रामशरण खवास, संस्थाकी संरक्षक पद्मा देवी सरावगी, सदस्यहरू सुमन बगेडिया, रामाकान्त अग्रवालका प्रतिनिधि रेनु सर्राफ र नेहा सर्राफ, सामाजिक अभियन्ता प्रकाश थारु, बोर्डर आउटपोस्ट महादेवपट्टीका कार्यालय प्रमुख शस्त्र प्रहरी निरीक्षक हरिचन्द्र खड्का तथा प्रहरी चौकी महादेवपट्टीका प्रमुख प्रहरी सहायक निरीक्षक अवधलाल साहको संयुक्त उपस्थितिमा कम्बल वितरण गरिएको थियो। कार्यक्रममा स्थानीय भद्रभलाद्मीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
संस्थाकी अध्यक्ष सरावगीले जाडोको समयमा समाजका कमजोर वर्गलाई न्यानोपन दिनु संस्थाको कर्तव्य भएको बताउँदै आगामी दिनहरूमा पनि यस्ता मानवीय सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा अध्यक्ष खवासले यसअघि पनि उपकार सेवा नेपालले वडा नं. १ मा विभिन्न महत्वपूर्ण सहयोगहरू गरिसकेको स्मरण गराउँदै आगलागीपीडित, विपन्न परिवार तथा मठ–मन्दिरहरूमा निरन्तर सहयोग गर्दै आएको जानकारी दिनुभयो। यसका साथै संस्थाले वडाका अपाङ्गता भएका चार परिवारलाई ह्वीलचेयरसमेत प्रदान गरिसकेको उहाँले बताउनुभयो।
चिसो बढ्दै गएको यस समयमा प्राप्त न्यानो कम्बलले अप्ठ्यारो अवस्थामा रहेका व्यक्तिहरूलाई उल्लेखनीय राहत पुग्ने विश्वास गरिएको छ। सामाजिक अभियन्ता प्रकाश थारुले यस्ता मानवीय कार्यले समाजमा सकारात्मक परिवर्तन ल्याउने उल्लेख गर्दै सबैलाई सहयोगी हात फैलाउन आग्रह गर्नुभयो।
© 2024



