वीरगञ्ज — नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्वसभापति तथा वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति नेपाल पत्रकार महासंघ पर्सा शाखाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।
८४ वर्षको उमेरमा यही पुस २५ गते निधन भएका दाहालप्रति गहिरो दुःख व्यक्त गर्दै महासंघले केन्द्रीय निर्णयअनुसार तीन दिनसम्म केन्द्रीय, प्रदेश तथा जिल्ला शाखासहित प्रतिष्ठान, एसोसिएट र संस्थागत तहमा कुनै औपचारिक कार्यक्रम नगर्ने तथा १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पर्सा शाखाले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो।
श्रद्धाञ्जली कार्यक्रममा महासंघ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले स्व। दाहालको तस्बिरमा फूलमाला, पुष्पगुच्छा, टीका र अगरबत्ती अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे। कार्यक्रममा उपस्थित पत्रकारहरूले दाहालले नेपाली पत्रकारिता क्षेत्रमा पुर्याएको योगदान, उनको जीवनसंघर्ष र समाजप्रतिको समर्पणको स्मरण गर्दै सम्मान प्रकट गरे।
कार्यक्रममा स्व। दाहालको तस्बिरमा पुष्पमाला अर्पण गरी मौनधारणसमेत गरिएको थियो। सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका थिए।



