काठमाडौं – नामै नसुनेको जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक हड्तालको घोषणा गरेसँगै विभिन्न विद्यालयहरू बन्द भएका छन्। युनियनले १८ बुँदे माग अघि सार्दै हड्तालको घोषणा गरेपछि शैक्षिक संस्थाहरू सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने अन्योलमा परेका विद्यालय व्यवस्थापनहरूले अन्ततः विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
हड्तालको अचानक घोषणाका कारण विद्यालय जान लागेका तथा विद्यालय पुगिसकेका विद्यार्थी र शिक्षकहरू अन्योलमा परेका छन्। कतिपय विद्यार्थी विद्यालय गेटसम्म पुगेपछि विद्यालय बन्द भएको जानकारी पाएर घर फर्किन बाध्य भएका छन्।
हड्तालका कारण पठनपाठन प्रभावित भएको भन्दै अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन्। साथै, विद्यार्थीहरूको नियमित अध्ययनमा अवरोध सिर्जना हुनु दुखद भएको उनीहरूको गुनासो छ।



