वीरगन्ज – हिन्दू बनेर नेपाली नाबालिकालाई प्रलोभन देखाई भारतको दिल्ली लग्दै गरेका एक मुस्लिम युवक शेख रिजवान आलमलाई भारतीय सुरक्षाकर्मीले रक्सौल सीमाबाट पक्राउ गरेका छन्। उनीमाथि मानव तस्करीको आरोप लागेको छ।
१३ वर्षीया बालिकालाई काठमाडौंबाट फकाएर दिल्ली लैजाँदै गरेका आलमलाई भारतीय एसएसबी, जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त टोलीले सीमाक्षेत्र रक्सौल कस्टम नजिकैबाट नियन्त्रणमा लिएको हो।
स्टार मेकरमार्फत चिनजान, प्रेम र प्रलोभनको जाल
भारत बिहारको पूर्वी चम्पारणका शेख रिजवान आलमले आफूलाई हिन्दू परिचय दिँदै “स्टार मेकर” एपमार्फत बालिकासँग मित्रता गरेका थिए। पछि सम्बन्ध प्रेममा परिणत भएको किशोरीले बयान दिएकी छिन्। युवकले उनलाई बिहे गर्ने, राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी दिल्ली लैजाँदै थिए।
सीमाबाटै तस्करी प्रयास विफल
रक्सौल कस्टम नजिकै पहाडे मूलकी किशोरी र मधेसी युवक देखेपछि सुरक्षाकर्मीहरूलाई शङ्का लाग्यो। खोजतलास गर्दा युवकको योजना सार्वजनिक भएको हो। एसएसबीका अनुसार आलमले बालिकालाई दिल्ली पुर्याई मानव तस्करीको शिकार बनाउने तयारी गरेका थिए।
पक्राउ र कारबाही प्रक्रिया
आलमलाई नियन्त्रणमा लिएपछि भारतीय मानव तस्करी रोकथाम इकाईले उनलाई हरैया थानामा बुझाएको छ। मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातका अनुसार एफआईआर दर्ता भइसकेको छ र अनुसन्धान जारी छ।
सीमा क्षेत्रमा सचेतना आवश्यक
एसपी प्रभातले यस्ता घटनाहरू पुनः नदोहरिने गरी रोक्न नेपाली सुरक्षा निकाय तथा गैरसरकारी संस्थाहरूलाई चनाखो रहन सुझाव दिएका छन्।
दोहोरिँदै गरेका घटनाहरू
यसअघि पनि बारा सिम्रौनगढकी एक बालिकालाई फकाएर भारत लैजाने क्रममा एसएसबीको गस्ती टोलीले पक्राउ गरी रौतहटस्थित बंकुल प्रहरी चौकीको जिम्मा लगाएको थियो।
बालिकाहरू तस्करीको निशाना
पछिल्लो समय नेपाली किशोरीहरूलाई सामाजिक सञ्जाल, एप्स र झुटा प्रलोभनमार्फत भारत लैजाने घटनाहरू वृद्धि हुँदै गएका छन्, जसले सीमापार मानव तस्करीको खतरा गम्भीर बनाएको छ।



