वीरगन्ज — सामुदायिक प्रहरी कुम्हालटोलले पर्सा क्षेत्र नं. १ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य हरि पन्तलाई सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा सामुदायिक प्रहरी कुम्हालटोलका पदाधिकारीसहित विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले सांसद पन्तलाई अबिर, टीका, खादा तथा माला लगाई मायाको चिनो प्रदान गर्दै बधाई तथा शुभकामना दिएका थिए। साथै उनीहरूद्वारा विभिन्न सुझाव समेटिएको ज्ञापनपत्र पनि हस्तान्तरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सांसद पन्तले नेपालमा प्रहरीप्रति रहेको अनावश्यक डर हटाउँदै प्रहरी र समाजबीच सहकार्य बढाउन सरकारले सामुदायिक प्रहरीको अवधारणा ल्याएको बताए। सामुदायिक प्रहरीले प्रहरी र समाजबीच पुलको भूमिका निर्वाह गर्दै अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेको उनको भनाइ थियो।
उनले आफूलाई नेता नभई जनताको सेवकको रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै यसपटकको चुनावमा कुनै व्यक्तिको होइन, जनताको जित भएको बताए। “यो चुनावमा नेता होइन, जनताले जनतालाई जिताएका छन्। तपाईंहरूले मलाई जिताएर दिएको विश्वासले मेरो जिम्मेवारी अझ बढाएको छ। सकेसम्म देश, वीरगन्ज र यहाँका जनताको सेवामा समर्पित रहनेछु,” उनले भने।
सो अवसरमा सल्लाहकार मार्टिन मोक्तानले सांसद पन्तलाई बधाई दिँदै उनको जितमा महात्मा गान्धीको ‘सादा जीवन, उच्च विचार’ भन्ने सिद्धान्तको झल्को देखिएको बताए। पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्थापित गर्न पन्तको सरल, मिलनसार र दृढ स्वभावले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो। उनले पर्साका चारवटै सांसद पदमा जनताको विश्वास जित्न सफल भएकोमा पन्तलाई बधाई दिएका थिए।
सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष रमेश चौधरीले सांसद पन्तलाई बधाई तथा शुभकामना दिँदै छोटो समयको आग्रहमा कार्यक्रममा सहभागी भई समुदायका सुझाव ग्रहण गरेकोमा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा भावी प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई सम्बोधन गर्दै तयार पारिएका सुझावपत्रहरू पनि सांसद पन्तलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव श्रवणबहादुर रायमाझीले गरेका थिए।
कार्यक्रममा वीरगन्ज–५ का वडासदस्य मनोज साह, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, अभिभावक संघका अध्यक्ष सन्दीप साह, लोकल नेपाल प्रालिका सञ्चालक तथा मोडल युवराज केसरी, प्रौढ संघ पर्साका अध्यक्ष नन्दलाल अहिरलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सामुदायिक प्रहरी कुम्हालटोलका पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।



