वीरगन्ज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेयविरुद्ध दायर रिट निवेदन सर्वोच्च अदालत ले खारेज गरेको छ।
पाण्डेयको उम्मेदवारी खारेज गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल यादवले निर्वाचन आयोग, कान्तिपथ काठमाडौं समेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए। निवेदनमा बैंक ऋण नतिरेको आरोप लगाउँदै कर्जा सूचना केन्द्रको कालोसूचीसम्बन्धी विषय उठाइएको थियो।
आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले उक्त रिट खारेज गर्ने निर्णय गरेको हो। यसअघि फागुन १४ गते सोही अदालतले पाण्डेयविरुद्ध दायर उत्प्रेषण मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो।
यस प्रकरणमा निर्वाचन आयोगले कर्जा सूचना केन्द्रबाट प्राप्त विवरणका आधारमा पाण्डेयसँग स्पष्टीकरण मागेको थियो। उजुरी परेपछि आयोगले कानुनी प्रक्रिया अघि बढाएको र त्यसै सन्दर्भमा मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो।
अदालतको निर्णयपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमाले उम्मेदवार पाण्डेयले आफूविरुद्ध गरिएको “षड्यन्त्र” अदालतबाट अस्वीकार भएको दाबी गरे। “विपक्षीहरूले जतिसुकै षड्यन्त्र गरे पनि अन्ततः अदालतले न्याय दिएको छ,” उनले भने।
सर्वोच्च अदालतको फैसलासँगै पर्सा–३ मा पाण्डेयको उम्मेदवारी यथावत् रहने भएको छ। निर्वाचनको मुखैमा आएको यस निर्णयले उक्त क्षेत्रमा चुनावी समीकरणमा नयाँ स्पष्टता आएको राजनीतिक वृत्तमा चर्चा छ।



