बिरगंज ।
बिरगंज युवा समाज ले होली पर्वको पूर्वसन्ध्यामा शनिबार साँझ कुम्हालटोल स्थित स्टार युरो किड्स स्कुल को प्राङ्गणमा होली मिलन कार्यक्रम हर्षोल्लासका साथ सभ्य एवं भव्य रूपमा सम्पन्न गरेको छ।
कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष संजीव थापाले गरेका थिए। प्रमुख अतिथिका रूपमा बिरगंज कपडा बैंक का अध्यक्ष तथा नेपाल फुटबल संघ पर्सा का अध्यक्ष रोशन गुप्ता उपस्थित थिए। त्यसैगरी आदिवासी जनजाति महासंघ, बिरगंज महानगर कमिटीका उपाध्यक्ष पूर्ण गुरुङ, कलवार कल्याण समिति पर्सा का श्याम गुप्ता, फेमस आर्ट्स एण्ड एडभर्टाइजिङ का सञ्चालक कमलेश सराफ, समाजका वरिष्ठ उपाध्यक्ष सानुमाया राणा लगायत अग्रज, महिला तथा युवाहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष थापाले आफ्नो मन्तव्य राख्दै भने, “आज हामी यहाँ कुनै ठूलो औपचारिक कार्यक्रमका लागि मात्र होइन, हाम्रो आपसी भाइचारा, सद्भाव र स्नेहलाई अझ प्रगाढ बनाउन भेला भएका छौं। होली पर्व केवल रङहरूको खेल मात्र होइन, यो रिस–राग त्यागेर एकअर्कालाई अँगाल्ने र सम्बन्धहरूमा नयाँ रङ भर्ने उत्सव पनि हो।”
उनले समाजमा रहेका विभिन्न विचार र विविधतालाई एकतामा बाँध्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै मर्यादा र एकअर्काको इच्छाको सम्मान गर्दै होली मनाउन आग्रह गरे तथा सम्पूर्णमा शुभकामना व्यक्त गरे।
सोही अवसरमा समाजका सदस्य तथा बिरगंज कपडा बैंक का अध्यक्ष लालबाबु सिंहले समाजले लागूऔषध दुव्र्यसन, बालविवाह, महिला हिंसा, दाइजो प्रथा तथा बोक्सी प्रथा जस्ता कुरीति विरुद्ध अग्रपंक्तिमा रही विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गरे।
उनले दिनदुःखी तथा असहायहरूको सेवामा निरन्तर लागिरहनु समाजका लागि गर्वको विषय भएको बताए। होली आपसी मनमुटाव बिर्सेर एकताको सूत्रमा बाँधिने पर्व भएको उल्लेख गर्दै उनले आपसी एकता र भाइचारालाई बलियो बनाउँदै एक परिवारझैं मिलेर पर्व मनाउन आग्रह गरे। साथै, रङहरूले अनुहार मात्र होइन, मन पनि रंगीन बनाओस् भन्ने शुभकामना व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले एकअर्कालाई रङ र अबिर लगाउँदै नाचगानका साथ हर्षोल्लासपूर्वक होली मनाएका थिए। कार्यक्रमको सहजीकरण समाजका सल्लाहकार मार्टिन मोक्तानले गरेका थिए भने स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सानु राणाले व्यक्त गरे।



