वीरगञ्ज । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव ले वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ४ र ५ मा बिहीबार घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आयोजित कार्यक्रमअन्तर्गत यादवले प्रत्येक घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए। सो क्रममा उनले आफ्नो विगतको योगदानको मूल्याङ्कन गर्न र सही नेतृत्व चयन गर्न मतदाताहरूसँग आग्रह गरे।
‘निर्वाचनले सिङ्गो देशको दिशा तय गर्छ’
घरदैलोका क्रममा पूर्वमन्त्रीसमेत रहेका यादवले निर्वाचन केवल व्यक्ति चयन गर्ने प्रक्रिया मात्र नभई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसर भएको बताए।
“यो निर्वाचनले हाम्रो क्षेत्र मात्र होइन, सिङ्गो देशको दिशा तय गर्नेछ,” उनले भने, “त्यसैले जनताले आफ्नो अमूल्य मत सही व्यक्ति र सही दललाई दिनुपर्छ।”
उनले जनताको सुख–दुःखमा सधैँ साथ दिने, काम गरेर देखाएका नेतालाई चुन्नुपर्नेमा जोड दिए।
विगतका कामको मूल्याङ्कन गर्न आग्रह
यादवले आफ्नो दुई कार्यकालको स्मरण गराउँदै क्षेत्रको विकास, जनसेवा र पूर्वाधार निर्माणमा निर्वाह गरेको भूमिकाको मूल्याङ्कन गर्न मतदातासँग अपिल गरे।
उनले चुनावका बेला मात्र देखिने ‘मौसमी नेता’ हरूप्रति सजग रहन आग्रह गर्दै भने,“म चुनावी मौसमी नेता होइन, यो कुरा जनतामाझ स्पष्ट छ। केही व्यापारी सोच भएका व्यक्तिहरू चुनावलाई पनि नाफा–घाटा जस्तै हिसाब गर्छन्। जनताले यस्ता प्रवृत्तिबाट सतर्क रहनुपर्छ।”
‘स्टन्टले होइन, अनुभव र नीतिले देश चल्छ’
यादवले मुलुकलाई नाटक र स्टन्टले नचल्ने स्पष्ट पार्दै अहिलेको राष्ट्रिय सङ्कटबाट निकास दिन सक्ने एकमात्र राजनीतिक शक्ति एमाले भएको दाबी गरे।
“स्टन्ट गर्नेहरूले भोटका लागि जे पनि बोल्न सक्छन्,” उनले भने, “तर चुनावपछि उनीहरू कहाँ हराउँछन्, कसैलाई थाहा हुँदैन। देशलाई स्थायित्व र समृद्धितर्फ लैजान सक्ने स्पष्ट खाका एमालेसँग मात्र छ।”
उनले आफ्नो चुनावी अभियान जनताको आवश्यकता र दीर्घकालीन विकासमा केन्द्रित रहेको उल्लेख गर्दै पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा एमाले नेतृत्वमा भएका कामहरूको चर्चा गरे।



