वीरगन्ज — पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका मा जनता समाजवादी पार्टी (जसपा) सँग आबद्ध प्रभावशाली युवा नेताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्। बिन्दवासिनी गाउँपालिकाका चर्चित युवा नेता तथा २०७९ को स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षका प्रत्याशी मधुसुदन चौरसिया नेकपा एमालेमा प्रवेश गरेका हुन्।
चौरसिया बिहीबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन्। कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली ले चौरसियालाई खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।
चौरसिया २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेपाल सुशासन पार्टीका तर्फबाट बिन्दवासिनी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका थिए। पछिल्लो समय उनी जसपासँग आबद्ध रहँदै स्थानीय राजनीतिमा सक्रिय थिए। बिन्दवासिनी क्षेत्रमा युवामाझ राम्रो पकड बनाएका चौरसियाको एमाले प्रवेशलाई पर्सा जिल्लाको राजनीतिमा अर्थपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।
चौरसियासँगै अन्य नेताहरू पनि एमालेमा प्रवेश
मधुसुदन चौरसियासँगै वकिल मियाँ, नन्दु साह कानु, सोयल अख्तर र प्रभु बैठा लगायतका नेताहरू पनि नेकपा एमालेमा प्रवेश गरेका छन्। उनीहरू विभिन्न राजनीतिक दल तथा सामाजिक क्षेत्रबाट सक्रिय रहँदै आएका व्यक्तिहरू हुन्।
कार्यक्रममा नवप्रवेशी नेताहरूलाई स्वागत गर्दै एमाले अध्यक्ष ओलीले देशको समृद्धि, सुशासन र दिगो विकासका लागि नेकपा एमाले नै सक्षम, अनुशासित र भरोसायोग्य राजनीतिक शक्ति भएको दाबी गरे। उनले मधेस र विशेषगरी पर्सा जिल्लामा एमालेप्रति बढ्दो आकर्षणले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे।
“युवाहरूको आगमनले पार्टीमा नयाँ ऊर्जा थपिएको छ,” ओलीले भने, “देश निर्माणको यात्रामा एमालेले अग्रणी भूमिका खेल्नेछ।”
पर्सा–३ मा एमाले संगठन थप मजबुत हुने संकेत
कार्यक्रममा ओलीले पर्सा निर्वाचन क्षेत्र नम्बर ३ बाट एमालेमा प्रवेश गरेका युवा नेताहरूको सहभागिताले पार्टीको संगठनात्मक शक्ति अझ बलियो हुने उल्लेख गरे। उनले युवाहरूलाई केवल चुनावी प्रयोजनका लागि नभई नेतृत्व विकासको केन्द्रमा राखिने आश्वासन पनि दिए।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव लगायत पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको उपस्थिति रहेको थियो।



