वीरगञ्ज— पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश पाण्डेय ले सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–३ अन्तर्गत कटैया र गुलवरिया क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलोका क्रममा उम्मेदवार पाण्डेयले आफू अन्य नेताहरूजस्तो झुटा आश्वासन नदिने स्पष्ट अडान व्यक्त गर्दै जनताको वास्तविक आवश्यकता र हितलाई केन्द्रमा राखेर विकासका काम अघि बढाउने प्रतिबद्धता जनाए। उनले भने, “जनतासँग नगर्ने कामको सपना बाँड्ने होइन, गर्न सकिने र आवश्यक काम गरेर देखाउने मेरो अठोट छ।”
पाण्डेयले स्थानीय मतदातालाई भावनात्मक र झुटा आश्वासनमा नपर्न आग्रह गर्दै आफू विजयी भएपश्चात स्वच्छ सोच, स्पष्ट भिजन र परिणाममुखी योजनासहित जनताको सेवामा समर्पित हुने विश्वास दिलाए। क्षेत्र नम्बर–३ का जनताले आफूलाई मतदान गरेर विजयी बनाउनेमा पूर्ण भरोसा रहेको पनि उनले बताए।
घरदैलो कार्यक्रममा पूर्वमन्त्री तथा एमालेका नेता प्रमोद जैसवाल लगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। स्थानीयवासीहरूले पनि उम्मेदवार पाण्डेयप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै विकास र सुशासनका लागि सक्षम र इमानदार नेतृत्व आवश्यक रहेको बताएका थिए।



