वीरगन्ज — नेपाल कावेरी एकेडमीले आफ्नो १२औँ वार्षिकोत्सव समारोह अत्यन्त उत्साह र गौरवका साथ सम्पन्न गरेको छ। कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूको सक्रिय सहभागितामा आयोजित कार्यक्रमले समारोहलाई रंगीन, सजीव र अर्थपूर्ण बनाएको थियो।
विद्यार्थीहरूले विभिन्न समुदायको प्रतिनिधित्व गर्ने सांस्कृतिक नृत्य, सुमधुर गीत, वाद्ययन्त्र प्रस्तुत गरेका साथै ज्येष्ठ नागरिकप्रतिको सम्मान र वृद्धाश्रम सम्बन्धी सन्देश बोकेको नाटकद्वारा दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा विद्यालय अध्यक्ष श्री श्याम तुल्स्यान उपस्थित थिए। शिक्षा विभागका हरि राउत, मानवसेवा आश्रमका देवेश प्रसाद, प्रेस समुदायका युवराज खड्का,केडिया आँखा अस्पतालका सुजित मेहता, अभिभावक संघका सन्दीप साह तथा विद्यालयकी व्यवस्थापन निर्देशक आयुषी तुल्स्यानज्यूको उपस्थितिले समारोहलाई थप सम्मानित बनाएको थियो।
प्रधानाध्यापक श्री दिलिप गुप्ताले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका शैक्षिक उपलब्धि र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि गरिएका नयाँ सेवा तथा सुविधाबारे जानकारी दिनुभयो।
यस अवसरमा दीर्घकालीन समर्पण र उत्कृष्ट योगदान पुर्याउने शिक्षक तथा प्रशासनिक कर्मचारीहरूलाई सम्मान गरिएको थियो। १२ वर्षको निरन्तर सेवाका लागि उप–प्रधानाध्यापक प्रफुल सर्राफलाई विशेष सम्मान प्रदान गरिएको थियो भने प्रशासनिक कार्यमा योगदानका लागि अनुश्का झालाई सम्मान गरियो।
विद्यार्थीहरूलाई नृत्य र कला क्षेत्रमा प्रशिक्षण दिनुमा उत्कृष्ट योगदान पुर्याउने जय रजक, विज्ञान प्रदर्शनी ‘साइन्स कर्खाना’ सफलतापूर्वक सञ्चालन गर्ने हिरालाल यादव र कला क्षेत्रमा मार्गदर्शन दिने ईशा अग्रवाललाई प्रशंसापत्र प्रदान गरिएको थियो।
समारोहले विद्यालयको शैक्षिक उत्कृष्टता, सांस्कृतिक विविधता र मूल्यमा आधारित शिक्षाप्रतिको प्रतिबद्धतालाई उजागर गर्दै उच्च उत्साहका साथ समापन गरेको छ।



