पर्सा ।
नेपाली काँग्रेस पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुङटाले मुलुकको आर्थिक विकास, औद्योगिक प्रगति र जनताको जीवनस्तर उकास्ने भरोसाको एकमात्र आधार नेपाली काँग्रेस नै भएको स्पष्ट दाबी गर्नुभएको छ। उहाँका अनुसार अन्य कुनै पनि राजनीतिक शक्तिले दिगो विकास र समृद्धिको जिम्मेवारी पूरा गर्न सकेको छैन।
नेपाल ट्रेड युनियन काँग्रेसले वीरगन्जमा आयोजना गरेको प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा बोल्दै उम्मेदवार रुङटाले भन्नुभयो, “इतिहासले आफैं प्रमाणित गरिसकेको छ—जब–जब नेपाली काँग्रेसले बहुमतको सरकार बनाएको छ, तब–तब देशले आर्थिक प्रगति, औद्योगिक विकास र रोजगारीका अवसरहरू पाएको छ।”
उहाँले २०४६ सालको जनआन्दोलनपछिको कालखण्ड स्मरण गर्दै नेपाली काँग्रेसको बहुमत सरकारका बेला देशले गरेको आर्थिक उन्नतिलाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो। “विकासका नारा धेरैले दिन्छन्, तर उद्योग स्थापना गरेर, रोजगारी सिर्जना गरेर व्यवहारमै देखाउने काम नेपाली काँग्रेसले मात्रै गरेको छ,” उहाँले जोड दिनुभयो।
देशमा दिगो आर्थिक विकासका लागि स्थिर र बहुमतको सरकार अपरिहार्य रहेको बताउँदै उहाँले आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गरी काँग्रेसलाई बलियो जनादेश दिन मतदातासमक्ष आग्रह गर्नुभयो।
उम्मेदवार रुङटाले २०५६ सालमा काँग्रेसले बहुमत प्राप्त गर्दा देखिएको आर्थिक परिवर्तन र औद्योगिक विस्तारको स्मरण गराउँदै पुनः जनताले विश्वास गरेमा देश र जनताको आवश्यकताअनुसार नयाँ आर्थिक क्रान्ति गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
“सही आर्थिक नीति बने उद्योगधन्दा फस्टाउँछन्, उद्योग फस्टाएपछि रोजगारी सिर्जना हुन्छ र नागरिकको जीवनस्तर स्वाभाविक रूपमा उकासिन्छ,” उहाँले भन्नुभयो।
युवा, मजदुर र श्रमिक वर्गको हक–अधिकारका लागि नेपाली काँग्रेसले निरन्तर संघर्ष गर्दै आएको उल्लेख गर्दै उहाँले पार्टी सभापति गगन थापाको नेतृत्वमा बहुमतको सरकार निर्माण गर्न देशभरका मतदातालाई एकजुट हुन आह्वान गर्नुभयो।
कार्यक्रम नेपाल ट्रेड युनियन काँग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा तीन महिनाको सिलाइ–कटाइ तालिम तथा १५ दिने ब्युटिसियन तालिम पूरा गरेका १५–१५ जना प्रशिक्षार्थीलाई उम्मेदवार रुङटाले दक्षताको प्रमाणपत्र वितरण गर्नुभएको थियो।
त्यसैगरी पर्साको सबैया साझेदारी वन उपभोक्ता समितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित लखनलाल साह कानुलाई सम्मान गरिएको थियो।
कार्यक्रममा नेपाली काँग्रेस पर्साका पूर्व सभापति एवं संविधानसभा सदस्य अजय कुमार द्विवेदी, क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्द गुप्ता, अनिल सिंह, अमृतलाल जोशी, लक्ष्मण प्रसाद कुर्मी, मणिन्द्रलाल नेपाली, हरिन्द्र महतो लगायतका वक्ताहरूले काँग्रेसको बहुमत सरकारले मात्रै नेपाल र नेपालीको वास्तविक विकास सम्भव हुने धारणा राख्दै रुख चिन्हमा मतदान गरी काँग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभएको थियो।



