वीरगञ्ज — खुट्टामा चोट लागेका कारण घरमै स्वास्थ्य लाभ
गरिरहेका नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजय चौरसियाले आफ्नो चुनावी सक्रियता बढाएका छन्।
पछिल्ला तीन दिनदेखि चौरसियाले वीरगञ्ज–११, श्रीपुरस्थित आफ्नै निवासमा पर्सा क्षेत्र नम्बर २ अन्तर्गतका विभिन्न वडाका कांग्रेसका अगुवा कार्यकर्तासँग निरन्तर भेटघाट तथा छलफल गर्दै आएका छन्।
यसैक्रममा शुक्रबार बिहान उनले पर्सा क्षेत्र नम्बर २ अन्तर्गतको पर्सागढी नगरपालिकाका वडा नम्बर १, २ र ३ का कांग्रेस नेता तथा अगुवा कार्यकर्तासँग चुनावी रणनीतिबारे छलफल गरेका छन्।
छलफलमा पर्सागढी नगरपालिका वडा नम्बर १ का बुथ सभापति ढोडा दास थारु, वडा नम्बर २ का बुथ सभापति रामचन्द्र महतो दामस थारु, वडा नम्बर ३ का वडा अध्यक्ष सुकमान तामाङ, कमल महतो, तुल्ला दास चौधरी, घनश्याम चौधरी, वीरेन्द्र महतो, स्वर्साङ पाख्रिन, लालबाबु चौधरी, सुन्दर मैनाली, जुन माया बललगायतको उपस्थिति रहेको थियो।
उक्त भेटघाटमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै पार्टीको चुनावी रणनीति, संगठन सुदृढीकरण, वडास्तरदेखि क्षेत्रीय तहसम्म संगठनलाई कसरी मजबुत बनाउने, मतदातासँगको सम्बन्ध विस्तार, विगतका निर्वाचनमा देखिएका कमजोरी र सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो।
छलफलका क्रममा अगुवा कार्यकर्ताहरूले आ–आफ्नो वडाको राजनीतिक अवस्था, जनताका समस्या, संगठनको वर्तमान स्थिति तथा आगामी निर्वाचनमा देखिन सक्ने चुनौतीहरूबारे सुझाव दिएका थिए।
कार्यकर्ताहरूका सुझाव सुन्दै चौरसियाले पार्टीलाई जनताको भरोसायोग्य बनाउनेतर्फ सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्। उनले भने,
“आगामी निर्वाचन जित–हारको विषय मात्र होइन, जनताको विश्वास पुनः जित्ने अवसर पनि हो। त्यसका लागि संगठन मजबुत, कार्यकर्तामा आत्मविश्वास र जनतासँग प्रत्यक्ष सम्पर्क आवश्यक छ।”
स्वास्थ्यमा क्रमशः सुधार भइरहेको जनाउँदै चौरसियाले आउँदो शनिबारदेखि क्षेत्रका विभिन्न टोल तथा बस्तीमा पुगेर घरदैलो अभियान सुरु गर्ने जानकारी दिएका छन्। घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष भेटघाट, जनताका गुनासा तथा सुझाव संकलन, पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराउने र जनसमर्थन जुटाउने उनको भनाइ छ।
स्वास्थ्य लाभको अवस्थामै रहेर पनि निरन्तर छलफल र आगामी कार्ययोजनामा केन्द्रित गतिविधि अघि बढाइरहेका चौरसियाको सक्रियताले पर्सा क्षेत्र नम्बर २ मा कांग्रेसको चुनावी तयारीलाई थप गति दिएको छ।



