बीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिल रुगटा चुनावी मैदानमा देखिए पनि स्थानीय स्तरमा उनको सक्रियतामाथि प्रश्न उठ्न थालेको छ। लामो समय व्यवसायिक क्षेत्रमा सीमित रहेका रुगटा चुनाव नजिकिँदै गर्दा मात्र महानगरदेखि गाउँ–गाउँसम्म पुग्न थालेका हुन्।
आफूलाई ‘नेता होइन, जनताको साथी’ बताउने रुगटाले विगतमा भने जनताको सुख–दुःखमा देखिने अवसर पाएका थिएनन् भन्ने स्थानीयहरूको गुनासो छ। व्यवसायमा सफलता हासिल गरे पनि जन्मभूमिको अवस्था देखेर राजनीतिमा आएको दाबी गर्ने रुगटाले यसअघि पर्सा–१ का समस्याप्रति खासै चासो नदिएको आरोप लाग्दै आएको छ।
रुगटाले सबै वडाका समस्या पहिचान गरिसकेको दाबी गरे पनि ती समस्या पहिल्यैदेखि स्थानीय तह, किसान र जनप्रतिनिधिहरूले उठाउँदै आएको विषय भएको जानकारहरूको भनाइ छ। चुनावी घोषणामा सीमित योजना र दीर्घकालीन प्रतिबद्धताको अभाव देखिएको टिप्पणी पनि हुन थालेको छ।
कृषि उपजको बजार समस्या, युवाको पलायन, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर जस्ता विषयलाई अहिले आएर उठाउनु चुनावी रणनीति मात्र भएको स्थानीयको बुझाइ छ। कोल्ड स्टोर, अनुगमन र संरचना सुधारजस्ता योजना व्यवहारमा कसरी लागू हुन्छन् भन्नेबारे रुगटाले ठोस खाका प्रस्तुत गर्न नसकेको आलोचना भइरहेको छ।
खानेपानी, सडक र सिँचाइमा नेतृत्वको इच्छाशक्ति अभाव भएको आरोप लगाउँदै आएका रुगटामाथि भने स्वयंले कहिल्यै जनआन्दोलन, दबाब वा विकास पहलमा नेतृत्व नलिएको प्रश्न उठेको छ। चुनावी समयमा मात्रै देखिने र भाषणमुखी राजनीति पर्सा–१ का जनताले अब स्वीकार नगर्ने संकेत देखिन थालेको छ।
साभार – नेपाल पोस्ट बाट



