Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home बिचार ब्लग

सम्बन्धविच्छेदले बढ्दैछ ‘बालश्रम’

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २३,सोमबार
A A
file photo ,

file photo ,

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

(युवराज विष्ट
भोजपुर, २२ जेठ (रासस) ः श्रीमान्(श्रीमतीबीचको मनमुटाव तथा अन्तरकलहका कारण हुने सम्बन्धविच्छेदले बालश्रमको समस्या बढ्न थालेको छ । बाबुआमाबीच बिग्रेको सम्बन्धको प्रत्यक्ष असर बालबालिकामा पर्ने देखिएको छ । बाबुआमाको साथ टुटेपछि जीवन गुजारा गर्न उनीहरु श्रम गर्न बाध्य हुने गरेका छन् भने अर्कातिर बालापनमा बाबुआमाको मायाको अभावमा उनीहरु गलत सङ्गतमा समेत लाग्ने गरेका छन् । खास गरेर समाज हुने व्यथितिले बालश्रमलाई प्रशय दिँदा त्यसको शिकार बालबालिका हुने गरेका छन् । सामाजिक सञ्जाललगायतका प्राविधिको गलत प्रयोगका कारण पनि अधिकांशको पारिवारिक सम्बन्धमा दरार सिर्जना भएको देखिन्छ । बाबुआमा एकापसमा अलग भएपछि बाबुले कान्छी आमा ल्याउने, आमा अरुसँग विवाह गरेर जानुले पनि कतिपय बालबालिका साहाराविहीन बन्न पुगेका छन् । अभिभावकले गर्ने गलत व्यवहार र क्रियाकलापले कलिलो मस्तिष्कमा नकारात्मक धारणाकोसमेत विकास हुने मनोविश्लेषकको भनाइ छ । वैदेशिक रोजगारीमा घरको मूली मान्छे जाने गरेका कारण पनि घर धान्नका लागि छोराछोरी श्रममा लाग्ने गरेको पाइन्छ । बेसाहरा बनेपछि उनीहरु विभिन्न क्षेत्रमा बालश्रम गर्न बाध्य हुने गरेका छन् । पछिल्लो समय विकृतिका रुपमा बढ्दै गएको सम्बन्धविच्छेदले बालबालिकाको वृद्धि विकासमा हानि पु¥याएको छ ।
यसले बालबालिकाकासँगै अन्य विभिन्न सामाजिक क्षेत्रमा पनि प्रभाव पारेको देखिन्छ । यही ढङ्गले अभिभावकमा हुने खटपट बढ्दै जाने हो भने यसले समाजमा निकै ठूलो असर पु¥याउने देखिएको छ ।
जिल्ला अदालत भोजपुरको तथ्याङ्कअनुसार एक महिनामा औसतमा १५÷१६ जनाले सम्बन्धविच्छेद गर्ने गरेका छन् । सम्बन्धविच्छेदका कारण बालबालिकाले अभिभावकको माया पाउन गाह्रो हुने, विद्यालय जान छाड्ने र बाँच्नका लागि पनि जस्तोसुकै जोखिमपूर्ण श्रममा पनि लाग्ने गरेको हुनसक्ने जिल्ला अदालत भोजपुरका स्रेस्तेदार नवराज कार्कीको भनाइ छ ।
बालबालिकाको वृद्धि र विकासमा नकारात्मक असर पार्ने खालका काममा दिन प्रतिदिन जिल्लाका बालबालिकाको संलग्नता बढ्न थालेको छ । बालबालिकाको हकअधिकारको लागि सरकारी र गैरसरकारी निकायबाट केही प्रयास भए पनि त्यसले प्रभावकारीरुपमा काम गरेको देखिँदैन । यहाँ बालबालिकाको हकअधिकारका पक्षमा काम गर्ने सङ्घसंस्थाको उपस्थिति न्यून नै छ । सरकारी तबरबाट केही हदसम्म बालश्रम अन्त्यको विभिन्न सचेतनामूलक क्रियाकलाप हुने गरे पनि त्यसको नतिजा प्रभावकारी देखिएको छैन । बाल सञ्जालको गठन गरेर केही सचेतनामूलक काम भए पनि पर्याप्त नभएको विज्ञहरु बताउँछन् । बालबालिकालाई शिक्षा, खेलकुद, मनोरञ्जनका सट्टा उनीहरूको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासको गतिविधिमा बाधा वा अवरोध हुनेगरी सामाजिक वा आर्थिक लाभका लागि श्रममा लगाउनुलाई कानूनीरुपमा बन्देज लगाइएको छ । कानूनमा विभिन्न प्रावधान भए पनि समाजमा बालश्रम भने भइरहेको छ । बाबुआमाको साहरा तथा माया ममता कम हुँदा उनीहरु बाध्यताले उनीहरु सङ्गठित वा असङ्गठित क्षेत्रमा श्रम गरिरहेका छन् । सङ्गठित क्षेत्रमा भन्दा पनि असङ्गठित क्षेत्रमा बढी सङ्ख्यामा बालश्रमिक रहेको पाइन्छ ।साल्पासिलिछो गाउँपालिकाका एक १४ वर्षीय बालक सडक निर्माण भइरहेको ठाउँमा काम गरिरहेका अवस्थामा भेटिए । उनले श्रम गर्नुका कारण बाबुआमाको सम्बन्धविच्छेद रहेको बताए । उनले भने, “म अहिले विद्यालय जान छोडेर सडकमा ढुङ्गा बोक्ने गिटी कुट्ने काम गरिरहेको छु । बुबाआमा एक ठाउँमा हुनुहुन्न । उहाँहरुको सम्बन्धविच्छेद भएपछि बुबाले अर्की आमा ल्याउनुभयो । त्यसपछि अरु दुई जना भाइबहिनीलाई घरबाट निकालिएपछि उनीहरुलाई पनि मैले नै हेर्नुपर्छ ।”
त्यस्तै गरेर बुबा वैदेशिक रोजगारीमा जाने क्रमले पनि बालबालिका श्रम गर्न बाध्य छन् । टेम्केमैयुङ गाउँपालिका(५ का १७ वर्षीय अर्का बालक घरमा बारी, जोत्ने अर्मपर्म गरिरहेका छन् । उनको काँधमा पनि घरपरिवार धान्ने जिम्मेवारी छ । उनी अहिले विद्यालय छाडेर श्रम गरिरहेका छन् । बुबा विदेशमा भएको कारण बाध्य भएर काम गर्नुपरेको उनले बताए । उनले भने, “पढ्न मन छ तर घरको अवस्था कमजोर छ । बुबा विदेश जानु भएपछि सम्पर्कमा हुनुहुन्न । मलेसियामा विवाह गरेर बस्नुभएको छ भन्ने खबर छ । आमा पनि धेरै वर्षअघिदेखि बिरामी हुनुहुन्छ । परिवारको जीवनयापनको लागि काम गर्नु पर्छ ।”
भोजपुरको टेम्मैयुङ गाउँपालिकामा रहेको अन्नपूर्ण बागधन रणदिपाराई माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बर राईका अनुसार कक्षा १ मा भर्ना भएका विद्यार्थीमध्ये ६० प्रतिशत विद्यार्थी मात्र कक्षा १० मा पुग्ने गरेका छन् । विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुने गरेको छ । प्रधानाध्यापक राईले भन्नुभयो, “अधिकांश विद्यार्थीले बीचमै पढाई छाड्नुको मुख्य कारण उनीहरुको घरायसी अवस्था नै हो । यहाँका धेरै बालबालिका बालश्रम गरिरहेका नै हुन्छन् ।”विद्यालयमा भर्ना भएका जेहेन्दार विद्यार्थीले पनि कक्षा छाड्दा विद्यालयको शैक्षिकस्तरमा सुधार ल्याउन कठिन भएको उहाँको भनाइ छ । त्यस्तै बालविवाहका कारण पनि कतिपय छात्राले विद्यालय छाडेको प्रअ राईले बताउनुभयो । विवाह गरेर श्रीमान्को घरमा गएपछि बुहारीलाई पढाउनुपर्छ भन्ने मान्यता नहुँदा चाहेर पनि त्यस्ता छात्राहरुले पढाइलाई निरन्तरता दिन नसकेको उहाँको भनाइ छ । खास गरेर विद्यालय छाडेर श्रम गर्नेमा दलित तथा विपन्न परिवारका बालबालिकाको सङ्ख्या धेरै रहेको विद्यालयले जनाएको छ । सोही विद्यालय छाडेका १३ वर्षीय शिशिर परियारले परिवारमा आर्थिक समस्या भएका कारण विद्यालय छाडेर काम गर्न थालेको बताए । उनले भने, “परिवारको आर्थिक अवस्था कमजोर छ । छाक टार्न नै समस्या हुन्छ । मैले बाहिर सकेको काम गरेर केही भए पनि परिवारको आर्थिक भार धानेको छु । म जस्ता अरु साथीहरु पनि छन् । हामी आवश्यकताअनुसार सडक, लकडी तथा गाउँमा खेतला जान्छौँ ।”पढ्ने मन हुँदाहुँदै पनि पारिवारिक अवस्थाले श्रममा जानु परेको उनले दुखेसो व्यक्त गरे । केही वर्षअघिसम्म त मिलाएर काम गरेर स्कुल जादै थिए उनी । उनी भन्छन्, “बिदाको दिन काम गरेको भरमा साताभरि खान नपुगेपछि अहिले विद्यालय छाडेर काममा जान थालेको छु ।” यसरी काम गर्दा उनीहरुले दैनिक रु २५० देखि ४०० सम्म पाउँछन् । त्यही काम पनि नियमित हुन्न ।
परिवारमा अभिभावकबीच झगडा, बेमेल हुनु, कमजोर आर्थिक अवस्थाका कारण पढाइलाई भन्दा कामलाई महत्व दिनुपर्दा विद्यालय जाने गरेका कतिपय बालबालिकाको पढाइको स्तरमा पनि निकै कमजोर रहने गरेको छ । परीक्षामा निरन्तर पास हुन नसक्नु, विद्यालय तथा सहपाठी साथीबाट हुने दुव्र्यवहारका कारण पनि विद्यालय छाडेर बालश्रममा लागेका उदाहरण पनि प्रशस्त छन् । अध्ययनसँगै विद्यालयमा हुने विभिन्न प्रतियोगिता तथा अतिरिक्त क्रियाकलापमा आफू सक्षम रहेको देखाउन नसक्दा पनि उनीहरुमा विद्यालयप्रतिको आकर्षण घटेर गएको देखिन्छ । अरुण गाउँपालिकाका एक बालकले समयमा गृहकार्य बुझाउन नसक्दा शिक्षकबाट समेत दुव्यवहार भएपछि पढाइ नै छाड्नु परेको गुनासो गरे । चौध वर्षका ती बालकले गत वर्षबाट विद्यालय जान छाडेको बताए । उनले भने, “मैले कक्षा ९ बाट विद्यालय जान छाडें । त्यही कक्षामा दुई वर्ष पढ्दा पनि उत्तीर्ण हुन सकिन । धेरै पटक अनुत्तीर्ण भएपछि साथीहरुले जिस्काउन थाले । शिक्षकले पनि हतोत्साही गरेपछि स्कुल जान मन लागेन ।”टेम्केमैयुङ गाउँपालिका(९ सिंहदेवी माध्यमिक विद्यालयका शिक्षक राजधन राईले विद्यार्थीहरु पटकपटक अनुत्तीर्ण हुँदा पनि विद्यालय छाड्ने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विद्यालय छाड्ने मुख्य कारण एउटै कक्षामा पटकपटक फेल हुनु पनि हो । आर्थिक हिसाबले केही सम्पन्न परिवारका बालबालिकामा पनि सामाजिक सञ्जाल तथा बढ्दो प्रविधिको कारण सिकाइ अवस्था खस्किएको छ । उनीहरुको बढी ध्यान मोवाइल, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा जाने हुनाले पनि फेल हुने गरेका छन् । यसले विद्यार्थीहरुमा विद्यालय छाड्ने लहर बढेको छ । विद्यार्थीमा मिहेनत गरेर अध्ययन गर्ने बानीको विकास घट्दै गइरहेको छ ।”
यहाँका कतिपय विद्यालय जाने उमेरका बालबालिका सडक निर्माण, भारी बोक्ने, सार्वजनिक यातायातमा काम गर्ने गरेका छन् भने केही बालबालिका भारतमा समेत काम गर्न जाने गरेको पाइन्छ । प्रअ राईले भन्नुहुन्छ, “विद्यालयमा भर्ना अभियान चलाउँछौँ । बालबालिका भर्ना पनि हुन्छन् । तर गरिबीका कारण पढाइलाई निरन्तरता दिन सक्दैनन् । उनीहरुलाई श्रम गर्नु पर्ने बाध्यता छ ।” सानै उमेरमा विवाह गर्ने कारण पनि कतिपय बालबालिकाले पढाइ छाडेर श्रम गर्न बाध्य भएका छन् । उमेर नपुगी विवाह गर्दा पारिवारिक बोझले उनीहरुले श्रम गर्नुपर्ने अवस्था रहेको छ । खास गरेर १० देखि १८ वर्षसम्मका बालबालिका यसबाट प्रभावित हुने गरेको टेम्केमैयुङ गाउँपालिका(५ का स्थानीयवासी कृत्रिमान विष्ट बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “बालश्रम अन्त्यका लागि राज्यको तहबाट जति नै प्रयास भए पनि त्यो कार्यान्वयन भएको पाइँदैन ।”
नेपालको संविधानको मौलिक हकको धारा ३९ (४) मा बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाउन नपाइने, धारा ५१ राज्यका नीतिअन्तर्गत झ (३) मा बालश्रमलगायत सबै श्रमका शोषण अन्त्यका प्रतिबद्धता व्यक्त गरिएको छ । संविधानमा यो व्यवस्था भए पनि अहिले पनि धेरै बालबालिका विभिन्न कारणले बालश्रम गर्न बाध्य छन् । खासगरी १४ देखि १८ वर्षसम्मका बालबालिकालाई सामान्य काममा लगाउन सकिन्छ तर बालश्रम ऐन २०५६ ले ११ प्रकारका कामलाई जोखिमपूर्ण कामको सूचीमा राखेर त्यस्ता लगाउन नपाइने स्पष्ट उल्लेख छ । बाल भरिया, सडक बालबालिका, बालबालिकाको बेचबिखन, बालविधुवा बालश्रम, घरेलु बालश्रमिक, इँटा कारखानामा काम गर्ने बालश्रमिक र कोइला तथा अन्य खानीमा काम गर्ने बालश्रमिकलाई यसभित्र समावेश गरिएको छ । समाजमा विद्यमान गलत क्रियाकलापले बालबालिकालाई सामाजिकीकरण र जीवन जिउने सीपको विकासमा असर मात्र पुगेको छैन राष्टूका भोलिका कर्णधार मानिने आजका बालबालिकाको भविष्य अन्योलमा पर्नेछ । कतिपय बालबालिका पारिवारिक संरक्षणको अभावमा कूलतमा लाग्ने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् । यसले परिवार, समाज र सिङ्गो राष्टूलाई नै ठूलो नोक्सानी गर्ने हुँदा बालबालिकाको पढाइ, हेरविचार र सही बाटोमा हिँडाउन अभिभावक, समाज र राष्टूकै दायित्व हुन आउँछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस
Tags: # child labour

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ जेष्ठ २३,सोमबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ जेष्ठ २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद