बीरगन्ज । नेपाल प्रो क्लब च्याम्पियनसिपको उद्घाटन खेलमा पर्सा क्लब ११ ले उत्तर प्रदेश क्लब ११ माथि एक विकेटको जित हात पारेको छ ।
बीरगन्ज स्थित नारायणी क्रिकेट ग्राउन्डमा सन्दीप लामिछानेको कप्तानीमा रहेको पर्साले टस जितेर फिल्डिङ रोजेको थियो । उत्तर प्रदेशले १६ ओभरमा ६६ रनमा अल आउट भयो ।
ओपनर भिस शर्मा शून्य र अल्टमास आलम ४ रनमा आउट भए । निखिल प्रतापले पनि खाता खोल्न सकेनन् । मन्गन प्रसाद ७ र तरुण कुमार १२ रनमा मैदान बाहिरिए । जयदीप सिंहले १२ र समिर अन्सारीले सर्वाधिक २४ रन जोडे । सन्दीपले तीन, रुपेश सिंह र रन्जीत कुमारले दुई(दुई विकेट लिए ।
जवाफमा स्थानीय टोली पर्साले १६ ओभर ३ बलमा नौ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पर्साले पनि सामान्य लक्ष्यका लागि संघर्ष गर्यो । ओपनर इमरान शेख खाता नखोल्दै पवेलियन फर्किए । हासिम अन्सारी ३ र अनिल साह १८ रनमा आउट भए । सुरज पटेलले ४ रन मात्र जोड्दा पवन सरार्फले खाता खोल्न पाएनन् । सन्दीपले १२ रन बनाएपछि पर्साले जित हात पारेको हो । भीम तरुण र वासिम अन्सारीले दुई( दुई विकेट लिए



